काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामालाई लिएर सरकारविरुद्ध कडा मोर्चाबन्दीको घोषणा गरेको छ। निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो।
पार्टीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै आन्दोलनको नयाँ कार्यतालिका बाहिर ल्याएका हुन्।
निर्वाचन प्रक्रिया र आयोगको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको सीजेपीले मुख्य निर्वाचन आयुक्त कुमारले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग दोहोर्याएको छ। यसअघि नै माग पूरा नभए अक्टोबर २ देखि आन्दोलनमा उत्रिने चेतावनी दिएको पार्टीले सोही घोषणाअनुसार सत्याग्रहको स्वरूप मानिने ‘जेल भरो’ रणनीति रोजेको हो।
भारतीय राजनीतिमा विरोध प्रदर्शनको प्रभावकारी स्वरूप मानिने यस आन्दोलनमा सहभागीहरूले सरकार वा सम्बन्धित निकायको निर्णयविरुद्ध स्वयं आफूलाई गिरफ्तारीका लागि प्रशासनसमक्ष प्रस्तुत गर्ने गर्छन्।
आन्दोलनको घोषणा भएसँगै मुम्बईको शिवाजी पार्कमा प्रदर्शन गर्न स्थानीय प्रशासनले सीजेपीलाई अनुमति नदिएको जनाइएको छ।
प्रशासनको यो कदमप्रति तीव्र आपत्ति जनाउँदै संस्थापक दीपकेले लोकतान्त्रिक ढाँचामा शान्तिपूर्ण रूपमा आवाज उठाउन पाउने नागरिक अधिकारमाथि रोक लगाउने प्रयास स्वीकार्य नहुने बताएका छन्।
शिवाजी पार्कमा प्रदर्शनको अनुमति नपाएपछि सीजेपीले पूर्वघोषित ‘जेल भरो आन्दोलन’ कुन स्वरूपमा र कहाँ सञ्चालन गर्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। उता सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र सुरक्षा निकायले स्थितिको निगरानी गरिरहेको छ।





प्रतिक्रिया