रुसी आक्रमणमा किएभको विज्ञान प्रतिष्ठानमा क्षति


किएभ, १३ असोज । युक्रेनको राजधानी किएभमा मङ्गलबार भएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा राष्ट्रिय विज्ञान प्रतिष्ठानको भवनमा क्षति पुगेको छ । आक्रमणमा प्रतिष्ठानमा कार्यरत एक व्यक्तिको मृत्यु भएको छ भने पूर्व राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव भोलोदिमिर गोर्बुलिन घाइते भएका छन् ।

गोर्बुलिनले आफू आक्रमणका बेला प्रतिष्ठानमै रहेको र सामान्य रूपमा घाइते भएको बताए । उनका एक सहयोगीको भने मृत्यु भएको बताए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ड्रोन प्रतिष्ठानको भवनमा ठोक्किएपछि विस्फोट भएको र भवनमा आगलागी तथा धुवाँ फैलिएको देखिएको थियो ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसी आक्रमणमा सांस्कृतिक स्थल, सरकारी भवन र विद्यालयसमेत प्रभावित भएका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभमा स्वास्थ्य संस्थामा समेत क्षति पुगेको बताएका छन् । डिनिप्रोमा भएको आक्रमणमा चार जनाको मृत्यु र कम्तीमा १९ जना घाइते भएका छन् भने जापोरिज्जियामा ३० जना सर्वसाधारण घाइते भएका छन् ।

प्रधानमन्त्री सेर्गी कोरेत्स्कीका अनुसार जाइटोमिरमा आइसक्रिम कारखाना तथा सुमी, रिभ्ने र ओडेसाका आवासीय भवनमा समेत क्षति पुगेको छ । सोमबार रुसी जेटचालित ड्रोनले पोल्यान्डको सीमासमिपको युक्रेनी गाउँमा आक्रमण गरी सीमा चौकीमा क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनले पछिल्लो समय तीव्र गतिमा उड्ने र रोक्न कठिन मानिएका नयाँ जेटचालित ड्रोन प्रयोग भइरहेको जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले प्याट्रियट क्षेप्यास्त्र प्रणालीसहित सैन्य सहयोग बढाउन पश्चिमी सहयोगी राष्ट्रसँग आग्रह गरेका छन् ।

यसैबीच, जाडो नजिकिँदै गर्दा युक्रेनमा ऊर्जा आपूर्तिको समस्या बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । गत वर्ष रुसी आक्रमणबाट ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि अत्यधिक चिसोका बेला विद्युत् र ताप आपूर्तिमा समस्या भएको थियो । प्रधानमन्त्री कोरेत्स्कीले आवश्यक परे जाडोअघि किएभका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्थालाई ‘चरम कदम’ बताउँदै विशेषगरी कमजोर अवस्थाका मानिसका लागि वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्ने बताएका छन् । रासस