चार दिनको वर्षा : पाँच सय ४२ विपद्का घटना


काठमाडौँ, १३ असोज । पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र आठ जना घाइते भएका छन् । ती विपद्का घटनाबाट एक हजार ८२ परिवार प्रभावित भएका छन् भने ११४ वटा पशुचौपाय क्षति भएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा पहिरोका ३०४ वटा घटना परी २० जनाको मृत्यु भएको थियो भने चार जना बेपत्ता र सात जना घाइते भएका छन् । त्यस्तै बाढीका ८७ वटा घटनामा चार जनाको मृत्यु भएको थियो । भारी वर्षासँग सम्बन्धित १५१ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

भारी वर्षाका कारण २२७ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन भने १४२ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोबाट ३१ वटा पुलमा क्षति पुगेको छ ।

प्राधिकरणका अनुसार चार दिनको वर्षाका क्रममा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलीमिटरभन्दा बढी वर्षा भएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा सबैभन्दा बढी ५४४ दशमलव दुई मिलीमिटर, कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलीमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन भएको थियो ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण यस अवधिमा देशका विभिन्न भूभागमा भारी वर्षा भएको प्राधिकरणले जनाएको छ ।

पूर्वसूचनाबाट करिब १० लाखलाई चेतावनी

प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि वर्षा सुरु हुनुअघि नै पूर्वसूचना र पूर्वतयारीलाई चुस्त तुल्याएको थियो ।

पछिल्लो वर्षाको अवधिमा प्राधिकरणको ‘सिचुएसन रुम’ बाट ७६ घण्टा निरन्तर मौसम तथा विपद् जोखिमको अनुगमन, सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय गरेको थियो ।

दूरसञ्चार सेवा प्रदायकमार्फत करिब नौ लाख ८० हजारभन्दा बढी नागरिकलाई लक्षित बाढी चेतावनी एसएमएस पठाइएको थियो । त्यसमध्ये पाँच हजारभन्दा बढी प्रतिकार्यमा संलग्न तथा करिब नौ हजार पर्यटकलाई समेत मौसम तथा विपद् जोखिमसम्बन्धी सतर्कता सूचना प्रवाह गरिएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

त्यस समयमा प्राधिकरणले प्रमुख नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन तथा साना नदी तथा खोलामा आउने आकस्मिक बाढीको पूर्वानुमान अवधि २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याएको थियो ।

करिब दुई हजारको उद्धार

प्राधिकरणको प्रवक्ता शान्ति महतले त्यस अधिमा वर्षाजन्य विपद्का कारण जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिए ।

उनका अनुसार जाजरकोट, म्याग्दी र बागलुङलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेकाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित भएका थिए ।

उनले भने, “असोज ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जोखिममा रहेका ७८ जनालाई हेलिकोप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।” जाजरकोटस्थित भेरी नदीबीच टापुमा फसेका चार जनाको समेत हवाई उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

मनाङ र मुस्ताङमा नदी थुनिएपछि सतर्कता

प्रवक्ता महतका अनुसार भारी वर्षापछि असोज ११ गते साँझ मनाङको चामेमा पहिरोका कारण मस्र्याङ्दी नदीको जलप्रवाहमा अवरोध सिर्जना भएको थियो ।

प्राधिकरणका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–३ पहिरोका कारण काली गण्डकी नदीको जलप्रवाहमा अवरोध भएको थियो । प्राधिकरणले दुवै नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्ला तथा स्थानीय तहका प्रतिकार्यकर्तालाई सूचना पठाएको थियो ।

असोज १२ गतेपछि भने नारायणीसहित देशका प्रमुख नदीमा जलसतह क्रमशः घट्दै गएको र अवस्था सामान्यतर्फ उन्मुख रहेको प्राधिकरणले जनाएको छ ।