भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघ सरकारसँग समन्वय भएन: मुख्यमन्त्री थापामगर


चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा उद्धार कार्यमा संघीय सरकारसँग आवश्यक समन्वय हुन नसकेको बताएका छन्।

जिल्ला समन्वय समिति चितवनद्वारा आयोजित स्थानीय तह तथा जिल्लास्थित सरकारी कार्यालयहरूको कामको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले समेत समन्वयको ठूलो अभाव झेल्नुपरेको बताए।

“बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिहरूले संघीय सरकारमा सम्पर्क गर्ने व्यक्ति नै को हो भन्ने थाहा नभएको भनेर गुनासो गर्नुभएको छ,” मुख्यमन्त्री थापामगरले भने, “स्थानीय तहका जनप्रतिनिधिहरूले समन्वयका लागि संघीय सरकारका प्रतिनिधि नभेटेपछि आफूलाई नै समन्वय गरिदिन अनुरोध गर्नुभएको छ।”

बाढीपछिको अवस्थालाई सामान्य बनाउन प्रदेश सरकारले तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा त्रिशूली नदी वारिपारि सम्पर्क स्थापित गर्न तत्कालका लागि ७ वटा तुइन सञ्चालनमा ल्याइएको जानकारी दिए। यसका साथै २ वटा बेलिब्रिज र ५ वटा झोलुङ्गे पुल द्रुत प्रक्रियाबाट ठेक्का सम्झौता गरी निर्माण अघि बढाउने तयारी भइरहेको उनले बताए।

राहत तथा पुनर्स्थापनाका सन्दर्भमा बोल्दै मुख्यमन्त्री थापामगरले बागमती प्रदेश सरकारले भोटेकोसी बाढीका कारण ज्यान गुमाएका व्यक्तिको किरिया खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँ र मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ स्थानीय तहमार्फत उपलब्ध गराउने निर्णय गरिसकेको जानकारी दिए।

कार्यक्रममा उनले प्राकृतिक विपत्तिको यो कठिन घडीमा हातेमालो गर्न आग्रह गर्दै चितवनका स्थानीय तहहरूलाई पनि बाढीबाट अति प्रभावित पालिकाहरूलाई आवश्यक सहयोग पुर्‍याउन अपिल गरे।