मनाङको हिमलुङमा हिमपहिरो: ४ जनाको मृत्यु, १२ अझै बेपत्ता


काठमाडौ । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जटिल बनेको छ।

करिब ५ हजार २०० मिटर उचाइमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि भए पनि अझै १२ जना बेपत्ता छन्। आइतबार गएको हिमपहिरोमा परेर वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको मृत्यु भएको हो। खोजीका क्रममा आइतबार दुई र सोमबार थप दुई जनाको शव फेला पारिएको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपहिरोमा बेपत्ता भएका १२ जना हिउँमा पुरिएको आशंका गरिएको छ। तर उच्च हिमाली क्षेत्रमा ठूलो हिमपहिरो गएको र पुनः हिमपहिरोको जोखिम रहेकाले खोजी कार्य अघि बढाउन कठिनाइ भएको छ।

उद्धारमा खटिएका टोलीले हिउँ करिब आठ फिटसम्म खन्दा पनि बेपत्ताको अवस्था पत्ता लगाउन नसकेको जनाइएको छ। अहिलेको अवस्थामा थप खन्न जोखिमपूर्ण रहेको र हिउँ नपग्लिएसम्म खोजी अघि बढाउन कठिन हुने उद्धारकर्मीले बताएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मंगलबार घटनास्थलमा खोज तथा उद्धारको थप कार्यक्रम तय गरिएको छैन। घटनास्थलको भौगोलिक अवस्था र जोखिमलाई ध्यानमा राख्दै तालिमप्राप्त उद्धारकर्मीबाट समेत थप खोजी गर्न कठिन भएको प्रशासनले जनाएको छ।

हिमपहिरोमा परेका कामदारको खोजी तथा उद्धार सम्बन्धित कम्पनीले नै गरिरहेको बताइएको छ। स्थानीय प्रशासनले आवश्यक समन्वय गरिरहेको छ भने उच्च हिमाली क्षेत्रमा खोजीका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरिएको थियो।

काठमाडौँका दुईवटा पर्यटन कम्पनीबाट हिमलुङ क्षेत्रमा बेसक्याम्प निर्माणका लागि गएका २७ जना नेपाली कामदार हिमपहिरोमा परेका थिए। तीमध्ये ११ जना सकुशल फर्किएका छन् भने चार जनाको शव भेटिएको छ। बाँकी १२ जनाको अवस्था अझै अज्ञात छ। उच्च जोखिमका कारण तत्काल थप खोजी सम्भव नभएपछि बेपत्ताको उद्धारका लागि मौसम तथा भौगोलिक अवस्था अनुकूल हुने समयको प्रतीक्षा गर्नुपर्ने अवस्था देखिएको छ।