काठमाडौँ, १३ असोज । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ ।
आर्थिक ऐन, २०८३ को दफा १४ मा नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क लगाई असुल गर्ने व्यवस्था राखिएको थियो । सोही व्यवस्थाअनुसार विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखाङ्कन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिए ।
कार्यविधिअनुसार नेपालमा उपभोगका लागि बिक्री हुने सुन वा सुनका गरगहना तथा वस्तु र चाँदी वा चाँदीका गरगहना तथा वस्तुको अन्तिम उपभोक्तालाई बिक्री गर्दाको बिक्री मूल्यमा शून्य दशमलव पाँच प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ । यस्तो शुल्क वस्तु बिक्री गर्दाकै समयमा असुल गर्नुपर्नेछ ।
कार्यविधिले बिजक जारी गर्नेदेखि कारोबारको लेखाङ्कन र मासिक विवरण पेस गर्नेसम्मका व्यवस्था पनि गरेको छ । सीप प्रवर्द्धन शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले तोकिएको ढाँचामा बिजक जारी गर्नुपर्नेछ । कारोबारको लेखाङ्कन प्रोद्भावी (एक्रुअल) आधारमा गर्नुपर्ने तथा प्रत्येक महिनाको कारोबार भएको वा नभएको जे भए पनि अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा मासिक विवरण पेस गर्नुपर्नेछ ।
तोकिएको समयभित्र विवरण पेस नगरेमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रतिदिन शून्य दशमलव ०५ प्रतिशत वा प्रतिविवरण एक हजारमध्ये जुन बढी हुन्छ, सोहीबराबरको थप शुल्क लाग्ने व्यवस्था गरिएको छ । व्यवसायीले आफ्नो पसलबाट गरगहना निर्माणका लागि कालीगढकोमा तथा कालीगढबाट व्यवसाय सञ्चालन भएको स्थानमा सुन, चाँदी तथा सुनचाँदीका गरगहना वा वस्तु ओसारपसार गर्दा सम्बन्धित कार्यालयको छाप लागेको तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ । त्यस्तो गरगहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ ।
कार्यविधिले पुरानो सुन, चाँदी तथा सुनचाँदीका गरगहना खरिद गरी सोही ग्राहकलाई नयाँ गरगहना बिक्री गर्ने अवस्थालाई समेत स्पष्ट गरेको छ । ग्राहकबाट पुरानो गरगहना खरिद गरी सोही ग्राहकलाई पुरानो गरगहनाको तौल बराबरको मूल्यसम्म नयाँ गरगहना बिक्री गर्दा सीप प्रवर्द्धन शुल्क लाग्ने छैन । तर पुरानो तौलमा थप गरी नयाँ गरगहना बिक्री गरेमा थप गरिएको सुन वा चाँदीको मूल्य तथा सम्पूर्ण ज्याला–जर्तीमा सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्नेछ ।
सर्वसाधारणले व्यवसायीलाई सुन, चाँदी वा सुनचाँदीका गरगहना बिक्री गर्दा आफ्नो परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र वा नेपाल सरकारबाट जारी अन्य परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । त्यसरी बिक्री गर्ने सुनचाँदी वा गरगहना आफूले खरिद गरेको प्रमाणसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । विदेशबाट ल्याइएको सुनचाँदी भएमा त्यसको प्रमाणसमेत देखाउनुपर्नेछ ।
कार्यविधिअनुसार प्रत्येक सुनचाँदी व्यवसायीले आफ्नो पसलमा तोकिएको ढाँचाबमोजिमको सूचना पाटीसमेत राख्नुपर्नेछ । त्यस्तै, व्यवसायीले उपभोक्ताबाट सङ्कलन गरेको सीप प्रवर्द्धन शुल्क सम्बन्धित कार्यालयको कोड तथा राजस्व शीर्षक नम्बर ११४१३ मा अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्नेछ । तोकिएको समयभित्र शुल्क दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था गरिएको छ ।
कारोबारको परीक्षणका क्रममा सीप प्रवर्द्धन शुल्क छली गरेको पाइएमा कर अधिकृतले शुल्क निर्धारण गर्न सक्ने व्यवस्था कार्यविधिमा छ । कुनै व्यवसायीले शुल्क असुल नगरेमा, बिक्री कारोबार खण्डीकरण गरेमा, वास्तविक कारोबारभन्दा कम कारोबार घोषणा गरी न्यून शुल्क असुल गरेमा वा अन्य कुनै माध्यमबाट शुल्क छली गरेको पाइएमा निर्धारित शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ ।




प्रतिक्रिया