रुस–युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह


रोम, १३ असोज । पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान गर्दै लामो समयदेखि जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । उनले युद्धका लागि बढ्दो सैन्य खर्चले तनाव थप बढाउने भन्दै हतियारमा खर्च हुने रकम भोकमरी, आवास र बेरोजगारीजस्ता समस्या समाधानमा प्रयोग गर्न सकिने बताएका छन् ।

फ्रान्सको भ्रमण सकेर रोम फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पोप लियोले हिंसा, घृणा, हतियार र विनाशकारी युद्धबाट उत्पन्न जोखिमको विरोध गर्नु चर्चको सामाजिक शिक्षाको महत्त्वपूर्ण पक्ष भएको बताए । उनले युद्धलाई बढावा दिने सैन्य उद्योगबाट थोरै मानिस धनी भइरहेको उल्लेख गर्दै संवाद र वार्ताको विकल्प खोज्न विश्व समुदायलाई आग्रह गरे ।

“रुस र युक्रेन तथा अन्य देशका नेताहरूलाई बस्न, वार्तामा संलग्न हुन र युद्ध जारी नराखी समस्याको समाधान खोज्न आमन्त्रण गर्नु चर्चको जिम्मेवारी हो”, उनले भने । कहिलेकाहीँ यस्तो प्रयास व्यर्थजस्तो लागे पनि चर्चले शान्तिका लागि आफ्नो आवाज उठाइरहने उनले स्पष्ट पारे ।

पोपको आग्रह रुस–युक्रेनबीच युद्ध जारी रहेका बेला आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभमा रुसी आक्रमणबाट एक जनाको मृत्यु तथा तीन बालबालिकासहित छ जना घाइते भएको बताएका छन् । उनका अनुसार नेसनल एकेडेमी अफ साइन्सेजको भवनमा भएको आक्रमणपछि उद्धार टोली परिचालन गरिएको थियो ।

जेलेन्स्कीले युक्रेनमाथिका आक्रमण रोक्न अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताउँदै युरोप, अमेरिका र अन्य साझेदारको सहयोगमा भरोसा रहेको उल्लेख गरेका छन्। यसअघि सेप्टेम्बर २६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै युद्धको ‘समाधान’ चाहेको बताएका थिए । रासस