आइफोन १८ मा एनसेलको विशेष बन्डल अफर


काठमाडौँ । प्रविधिप्रेमी नेपाली उपभोक्तालाई लक्षित गर्दै एनसेलले नयाँ आइफोन श्रृंखलाका खरिदकर्ताका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा ल्याइएको यो योजनाले उच्चस्तरीय स्मार्टफोन प्रयोगकर्तालाई सञ्चार र मनोरञ्जनको एकीकृत सुविधा उपलब्ध गराउनेछ।

एनसेलका पुराना तथा नयाँ दुवै ग्राहकका लागि लागू हुने यो अफरअन्तर्गत आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्नेहरूले विशेष सुविधाहरू प्राप्त गर्नेछन्। योजना समाविष्ट डिभाइस खरिद गर्दा ग्राहकले असीमित डेटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएसका साथै ओटीटी प्लेटफर्म ‘लायन्सगेट प्ले’ को प्रिमियम सब्सक्रिप्सन पाउनेछन्।

कम्पनीका अनुसार यो सुविधा निश्चित सुरुवाती खरिदकर्ताका लागि मात्र उपलब्ध हुनेछ। आइफोन १८ प्रो र १८ प्रो म्याक्स खरिद गर्ने सुरुवाती २०० जना ग्राहकले यी सम्पूर्ण सुविधाहरू तीन महिनासम्म निःशुल्क उपभोग गर्न पाउनेछन्। त्यसैगरी, आइफोन डुओ खरिद गर्ने पहिलो १०० जना ग्राहकलाई भने यो सुविधा छ महिनासम्म कुनै अतिरिक्त शुल्कबिना नै उपलब्ध गराइनेछ।

डिजिटल जीवनशैलीलाई सहज बनाउने र व्यवहारिक मूल्य प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको एनसेलले जनाएको छ। सहकार्यबारे बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौँ। जेनेरेसन नेक्स्टसँगको साझेदारीले देशैभरका हाम्रा प्रयोगकर्तालाई जहाँसुकै उत्कृष्ट कनेक्टिभिटीको अनुभव गराउनेछ।”

नेपालमा प्रिमियम स्मार्टफोनको माग बढ्दै गएको परिप्रेक्ष्यमा दूरसञ्चार सेवाप्रदायक र आधिकारिक वितरकबीचको यो सहकार्यले नयाँ प्रविधि प्रयोगकर्ताका लागि थप सहजता र मूल्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।