‘पिंकवाक २०२६’ का लागि दर्ता खुला, असोज १७ गते बसन्तपुरदेखि पाटनसम्म पदयात्रा हुने


काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र समयमै स्वास्थ्य परीक्षणको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ का लागि औपचारिक दर्ता प्रक्रिया खुला गरिएको छ।

असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको ऐतिहासिक बसन्तपुरस्थित दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा आयोजना हुँदैछ। दुई सांस्कृतिक सहरलाई जोड्दै सञ्चालन गरिने यस पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यहरूले डिजिटल माध्यममार्फत सहजै दर्ता गर्न सक्नेछन्।

आयोजकका अनुसार सहभागिताका लागि दुईवटा सरल विकल्प उपलब्ध गराइएको छ:

वेबसाइटमार्फत: आधिकारिक लिङ्क (https://pinkwalk.github.io/register) मा गएर पृष्ठमा उपलब्ध QR कोड स्क्यान गरी आवश्यक विवरण भरेर दर्ता गर्न सकिनेछ।

ई-सेवा एपमार्फत: ईसेवा (eSewa) एप खोलेर ‘Voting & Events’ सेक्सनभित्र रहेको ‘Pink Walk’ छनोट गरी सोझै आवेदन दिन सकिनेछ।

स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षणको महत्त्व र समयमै सही उपचारबारे सचेतना जगाउनु यस walkathon को मुख्य ध्येय हो। साथै, क्यान्सर प्रभावित व्यक्ति तथा तिनका परिवारप्रति ऐक्यबद्धता जनाउनका लागि स्वास्थ्यकर्मी, क्यान्सर सर्भाइभर (निको भएका व्यक्ति), प्रभावित परिवार, विभिन्न सामाजिक संघसंस्था, सञ्चारकर्मी र सर्वसाधारणको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

‘पिंकवाक २०२६’ को आयोजना इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा गर्न लागेको हो। यस अभियानमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको विशेष सहयोग रहेको छ।

यस सचेतनामूलक अभियानलाई प्रभावकारी बनाउन नेशनल क्यान्सर अस्पताल, म्याक्स फाउन्डेसन, नोभाला बायोटेक, क्याम्स (CAMS), ले मोनाल, स्नो ड्रप्स, नेट टिभी, उनो, ह्याप्पी माइन्डस्, वाउ (WOW), जीभी, बर्स्ट निम्बू फिज्ज, हिमालयन जाभा, स्मृतिपत्र, झिगु नेवाः बाजं खलः, पठाओ, क्यूएफएक्स, ईसेवा, बज्र नासः खलः, ताल नृत्य भूमि, आईएसएस (ISS), वानपसल, क्रेयन्स कोर्प तथा काठमाडौँ पोस्टलगायत विभिन्न व्यवसाय तथा संस्थाहरूले साझेदारी गरेका छन्।

स्तन क्यान्सरविरुद्धको यस सामाजिक अभियानमा ऐक्यबद्धता जनाउँदै सामूहिक सहभागिताका लागि आयोजक समितिले सम्पूर्ण आम नागरिकलाई ‘पिंकवाक २०२६’ मा जोडिन आग्रह गरेको छ।