अमेरिकामा जनरल र एडमिरलको सङ्ख्या २० प्रतिशत घटाइयो


वासिङ्टन, १५ असोज । अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले अमेरिकी सेनाका जनरल र एडमिरलको सङ्ख्या २० प्रतिशतले घटाइएको बताएको छ । उनले यो कदमलाई सैन्य नेतृत्वमा ‘जवाफदेहिता’ कायम गर्दै सेनालाई युद्धका लागि थप केन्द्रित, अनुशासित र तयार बनाउने प्रयासका रूपमा प्रस्तुत गरे ।

क्वान्टिको सैन्य आधारमा सम्बोधन गर्दै उनले जनरल र एडमिरलमध्ये १० प्रतिशतलाई हटाइएको तथा जनरल अफिसरका पदसमेत थप १० प्रतिशतले घटाइएको जानकारी दिए । उनले अघिल्लो प्रशासनका ‘वामपन्थी विचारधारामुखी’ नीतिभन्दा युद्धमा केन्द्रित सैन्य संरचना निर्माण गर्ने प्रयासमा साथ नदिएका अधिकारीहरू परिवर्तनको प्रक्रियामा परेको बताए ।

हेग्सेथले सन् २०२५ को मेमा जनरल र एडमिरलको सङ्ख्यामा १० प्रतिशत तथा चारतारे उच्च पदमा २० प्रतिशत कटौती गर्ने आदेश दिएको थियो । तर सोही वर्षको मे अन्त्यमा ८३१ रहेका सक्रिय जनरल र एडमिरलको सङ्ख्या सन् २०२६ को जुलाई अन्त्यसम्म ८५१ पुगेको पेन्टागनको तथ्याङ्क छ । २० प्रतिशत कटौती पूर्ण रूपमा कार्यान्वयन भएको हो वा प्रक्रिया जारी छ भन्नेबारे पेन्टागनले हेग्सेथको भनाइबाहेक थप जानकारी दिएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को सुरुदेखि अमेरिकी सेनाको वरिष्ठ नेतृत्वमा व्यापक परिवर्तन गरेको छ । संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जनरल चार्ल्स ‘सीक्यू’ ब्राउनसहित सेना, नौसेना र तटरक्षक बलका प्रमुख तथा अन्य वरिष्ठ अधिकारी पदबाट हटाइएका वा परिवर्तन गरिएका थिए । यसप्रति डेमोक्रेटिक सांसदहरूले राजनीतिक रूपमा तटस्थ मानिने अमेरिकी सेनाको सम्भावित राजनीतिकरणबारे चिन्ता व्यक्त गर्दै आएका छन् ।

यसैबीच हेग्सेथले ‘युद्धको भविष्य’ अध्ययन गर्न ‘प्रोजेक्ट मेरिडियन’ घोषणा गरेको छ । पेन्टागनका शीर्ष प्रविधि अधिकारी एमिल माइकलको नेतृत्वमा रहने परियोजनामा प्रविधि व्यवसायी एलन मस्क, रक्षा प्रविधि कम्पनी एन्डुरिल इन्डस्ट्रिजका सहसंस्थापक पाल्मर लकी र प्रतिनिधिसभा पूर्वसभामुख न्युट गिङ्ग्रिच सहनेतृत्वमा रहनेछन् ।

परियोजनाले अमेरिकाले आवश्यक ठान्ने भविष्यका सैन्य क्षेत्र र क्षमताको पहिचान गर्नेछ । यसमा निजी क्षेत्रका नेतृत्वकर्ता तथा विषयविज्ञ सहभागी हुने र निष्कर्ष १२० दिनभित्र पेस गर्ने अपेक्षा गरिएको छ । रासस