सियोल, १५ असोज । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गरेका छन् । दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि उनले यस्तो आह्वान गरेका हुन्।
दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनःस्थापना र वार्ता पुनः सुरु गर्ने प्रक्रियामा सहभागी हुने आफूले आशा गरेको बताए ।
गत सेप्टेम्बर २१ मा डिएमजेडमा भएको विस्फोटका लागि दक्षिण कोरियाले बुधबार उत्तर कोरियालाई जिम्मेवार ठहराउँदै घटनाप्रति माफी माग्न आग्रह गरेको थियो । दक्षिण कोरियाली सेनाले उक्त घटनालाई दुई कोरियाबीच भएको युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ ।
विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक गम्भीर घाइते भएका थिए ।
तर उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले विस्फोटमा आफ्नो देशको संलग्नता अस्वीकार गरेका छन् । उनले दक्षिण कोरियाले घटनाबारे गरेको अनुसन्धानको निष्कर्षलाई गलत र तथ्यहीन भएको आरोप लगाए ।
दुई कोरियाबीच लामो समयदेखि राजनीतिक तथा सैन्य तनाव कायम रहँदै आएको अवस्थामा दक्षिण कोरियाली राष्ट्रपतिको वार्ता र विश्वास पुनःस्थापनाको आह्वान आएको हो । रासस




प्रतिक्रिया