लमजुङ, १६ असोज । कुनै समय लमजुङका चलचित्र हलहरू केवल फिल्म हेर्ने ठाउँमात्र थिएनन्, ती गाउँ–सहरका मानिस भेटघाट गर्ने, नयाँ चलचित्रको चर्चा गर्ने र मनोरञ्जनको मुख्य केन्द्रसमेत थिए । नयाँ फिल्म लाग्ने खबरसँगै हलमा टिकट काट्नेको भीड लाग्थ्यो ।
दर्शकहरू घण्टौँ लाइनमा बसेर चलचित्र हेर्न कुर्थे । कतिपय समयमा अतिरिक्त सोसमेत सञ्चालन गर्नुपर्ने अवस्था आउँथ्यो । बेँसीसहर, सुन्दरबजार, भोर्लेटार, भोटेओडारको फूलबारीलगायतका क्षेत्रमा सञ्चालन भएका चलचित्र हलहरूले लामो समयसम्म लमजुङको मनोरञ्जन संस्कृतिलाई धाने तर प्रविधिको विकास, टेलिभिजन, मोबाइल, इन्टरनेट तथा डिजिटल माध्यमको विस्तारसँगै चलचित्र हेर्ने शैली फेरिँदै गयो । त्यसको प्रत्यक्ष असर चलचित्र हलमा देखिन थाल्यो ।
कुनै समय दर्शकको भीडले भरिने लमजुङका अधिकांश चलचित्र हल अहिले बन्द भइसकेका छन् । जिल्लामा बाँकी रहेको पुरानो चलचित्र हलमध्ये बेँसीसहर नगरपालिका–८ सेरामा रहेको अन्नपूर्णा चलचित्र मन्दिरले भने अझै आफ्नो अस्तित्व जोगाइरहेको छ ।
सुन्दरबजार नगरपालिका–७ मा रहेको शान्ति चलचित्र मन्दिर कुनै समय लमजुङको प्रमुख मनोरञ्जन केन्द्र थियो । शान्ति चलचित्र मन्दिरका तत्कालीन सञ्चालक नवीन श्रेष्ठका अनुसार उक्त हल २०४९ सालतिर स्थापना गरिएको थियो । त्यतिबेला चलचित्र हेर्न मानिसहरू टाढाटाढाबाट घण्टौँ हिँडेर आउने गर्थे । कतिपय दर्शक बास बसेरसमेत बिहानको सो हेरेर फर्किने गरेको श्रेष्ठ सम्झन्छन् ।
“पाँच–सात घण्टा हिँडेर मानिसहरू फिल्म हेर्न आउँथे । कतिपय त बास बसेर बिहानको सो हेरेर फर्किन्थे”, श्रेष्ठ भन्छन् । त्यो समयमा शान्ति चलचित्र मन्दिरमा दर्शकको चाप निकै हुने गरेको उनी बताउँछन् ।
दिनमा तीन–चार वटासम्म सो सञ्चालन हुने र कहिलेकाहीँ राति ९ः०० देखि १२ः०० बजेको सोसमेत चलाउनुपर्ने अवस्था आउने गरेको थियो । विशेषगरी तीज, जनैपूर्णिमा तथा अन्य चाडपर्वमा हलमा अत्यधिक भीड लाग्ने गर्दथ्यो ।
“त्यतिबेला मनोरञ्जनको मुख्य माध्यम नै चलचित्र हल थियो । भोर्लेटार, नयाँगाउँ, गौँडा, श्रीमञ्ज्याङ, तनहुँको बाइसजगर माथिका गाउँहरूबाट समेत मानिसहरू फिल्म हेर्न आउँथे । हल मनोरञ्जन गर्ने ठाउँमात्र नभई भेटघाट गर्ने र सन्देश आदानप्रदान गर्ने माध्यम पनि थियो”, श्रेष्ठ भन्छन् ।
शान्ति चलचित्र मन्दिरले स्थानीयस्तरमा रोजगारीसमेत सृजना गरेको थियो । हल सञ्चालनका क्रममा १०–१२ जनाले प्रत्यक्ष रूपमा काम गर्ने गरेको श्रेष्ठ बताउँछन् । चलचित्र हलले सुन्दरबजार क्षेत्रलाई चिनाउनसमेत सहयोग पुगेको उनको भनाइ छ तर समय परिवर्तनसँगै हल सञ्चालनमा चुनौती थपिँदै गयो ।
विसं २०६० तिर मुलुकमा चलेको द्वन्द्वका कारण टाढाटाढाबाट आउने दर्शक घट्न थालेपछि हल सञ्चालनमा समस्या आएको श्रेष्ठ बताउँछन् । त्यस अवधिमा करिब एक वर्ष हल बन्द गर्नुपरेको थियो । “द्वन्द्वका कारण मानिसहरू टाढाबाट आउन छाडे । फेरि सञ्चालन गरेपछि केही समय दर्शक आए पनि विस्तारै अवस्था फेरिँदै गयो”, उनी सम्झन्छन् ।
प्रविधिको विकास, मोबाइल, टेलिभिजन र इन्टरनेटको विस्तारले पनि चलचित्र हलमा असर गरेको उनको अनुभव छ । घरमै मनोरञ्जन पाउने सुविधा बढेपछि दर्शक घट्न थाले । साथै, दर्शकको रुचिअनुसार चलचित्र निर्माण हुन नसक्नु पनि अर्को कारण रहेको उनी बताउँछन् ।
“पहिले फिल्म हेर्न हलमै आउनुपथ्र्यो । पछि मोबाइल र टेलिभिजनबाटै मनोरञ्जन पाउन थालेपछि दर्शक घटे । हलहरू पनि समयअनुसार प्रविधिसँग अघि बढ्न नसक्नु एउटा कारण हुनसक्छ”, उनी भन्छन् ।
कतिपय समयमा १०–१५ जना र कहिलेकाहीँ पाँच जनासम्म मात्र दर्शक आउने अवस्था आएपछि खर्च धान्न कठिन भयो । अन्ततः विसं २०७१ फागुन १८ गतेदेखि शान्ति चलचित्र मन्दिर बन्द गर्नुपरेको उनले बताए ।
लमजुङमा बाँकी रहेको पुरानो चलचित्र हलमध्ये अन्नपूर्ण चलचित्र मन्दिरले भने अझै आफ्नो यात्रा जारी राखेको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको उक्त चलचित्र मन्दिर २०४९ सालमा स्थापना भएको हो ।
अन्नपूर्ण चलचित्र मन्दिरका सञ्चालक प्रकाश दनाईका अनुसार अहिले दर्शकको अवस्था पहिलेको जस्तो छैन । कुनै समय हल भरिभराउ हुने गरे पनि पछिल्लो समय दर्शक सङ्ख्या निकै घटेको छ ।
“केही समय अघिसम्म ५०–६० जनासम्म दर्शक आउँथे । अहिले बर्खाको समयमा १०–१५ जना, कहिलेकाहीँ पाँच–सात जनामात्र दर्शक आउने अवस्था छ”, दनाई भन्छन् । दर्शक नपुगेका कारण कहिलेकाहीँ हल बन्द गर्नुपर्ने अवस्थासमेत आउने गरेको उनी बताउँछन् ।
चलचित्र हल सञ्चालनका लागि अहिले चलचित्र पाउनसमेत चुनौती रहेको उनको भनाइ छ । पहिले चलचित्र खरिद गरेर ल्याउने गरिए पनि पछिल्लो समय प्रतिशतका आधारमा चलचित्र प्रदर्शन गर्ने गरिएको बताउँदै उनी भन्छन्, “मोबाइल र इन्टरनेटबाट चलचित्र छिट्टै उपलब्ध हुन थालेपछि दर्शक हलसम्म ल्याउन कठिन भएको छ ।”
जिल्लाका अन्य हलहरू बन्द भइसकेको अवस्थामा एउटा हल पनि नरहनु राम्रो नहुने उनको भनाइ छ । “हल भनेको केवल व्यवसायमात्र होइन, जिल्लाको एउटा पहिचान पनि हो ।
मनोरञ्जनका लागि, ठूलो पर्दामा चलचित्र हेर्ने संस्कृतिका लागि पनि एउटा हल आवश्यक छ”, दनाई भन्छन् । ठूलो लगानी भइसकेको र पुरानो पहिचान जोडिएको कारण अन्नपूर्ण चलचित्र मन्दिरलाई निरन्तता दिने उनको सोच रहेको छ ।
“हललाई आधुनिक सुविधा दिएर राम्रोसँग सञ्चालन गर्न सकियो भने भविष्यमा फेरि दर्शक आकर्षित गर्न सकिन्छ । त्यसैले यसलाई जोगाएर अगाडि बढाउने सोच छ”, दनाई भन्छन् ।
दोर्दी गाउँपालिका–३ श्रीमन्ज्याङका करिब ७५–८० वर्ष उमेरका बुद्धिमान श्रेष्ठले पनि लमजुङको पुरानो चलचित्र संस्कृतिको अनुभव गरेका छन् । अहिले उमेर ढल्किएसँगै उनको दैनिकी घरायसी काम, गाईवस्तुको हेरचाह र गाउँघरका सामान्य काममै बित्ने गरेको छ तर समय मिल्दा उनी अझै पनि बेँसीसहर आएर चलचित्र हेर्ने गर्छन् ।
उनका लागि चलचित्र हल केवल मनोरञ्जन गर्ने ठाउँमात्र होइन, विगतको सामाजिक भेटघाट र रमाइलो समयको सम्झना पनि हो । पहिले गाउँबाट चलचित्र हेर्न जाने उत्साह, हलमा हुने भीडभाड र साथीभाइसँगको अनुभव अझै पनि उनको स्मृतिमा ताजै छ ।
कुनै समय सामूहिक मनोरञ्जनको प्रमुख केन्द्र बनेका लमजुङका चलचित्र हलहरू अहिले प्रविधि र बदलिँदो जीवनशैलीका कारण सङ्कटमा परेका छन् तर पुरानो सम्झना बोकेका दर्शक र बाँकी रहेको अन्नपूर्णा चलचित्र मन्दिरको प्रयासले लमजुङको सिनेमा संस्कृतिको अस्तित्व अझै जोगाइरहेको छ ।




प्रतिक्रिया