गणतन्त्र उल्ट्याउने प्रयासविरुद्ध निर्णायक संघर्ष आवश्यक छ : प्रचण्ड


काभ्रे । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई असाधारण संकटतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा निर्णायक संघर्ष गर्नुपर्ने बताएका छन्।

शनिबार काभ्रेको एकता बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले सच्चा कम्युनिस्ट शक्तिबीच पार्टी एकता तथा संविधान र गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। उनले सदन र सडकमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्नुपर्ने धारणा राखे।

गणतन्त्रपछि केही पनि भएन भन्ने भाष्य तथ्यसँग मेल नखाने दाबी गर्दै उनले शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यान्वयन, स्थानीय तह निर्वाचन, भूकम्पपछिको पुनर्निर्माण तथा लोडसेडिङ अन्त्यलगायतका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरे।

आफ्ना सरकारका कामको उपलब्धिसँगै कमजोरीको पनि वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने प्रचण्डले बताए। पार्टीलाई समेत नयाँ परिस्थितिअनुसार रूपान्तरण गर्नुपर्ने भन्दै उनले युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने, वैचारिक बहस र संगठनात्मक पुनर्संरचना अघि बढाउने निर्णय भएको जानकारी दिए।

महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव तथा गरिब, सुकुम्बासी र मजदुरका समस्यालाई केन्द्रमा राखेर जनताका मुद्दा उठाउनुपर्ने उनको भनाइ छ। ‘अब उपलब्धिको रक्षा मात्रै होइन, कमजोरी सच्याउँदै पार्टी, विचार, संगठन र नेतृत्वलाई रूपान्तरण गर्नुपर्छ,’ प्रचण्डले भने।