‘चुनाव जित्नु र मन्त्री बन्नु ठूलो कुरा होइन, राजनीति परिवर्तनका लागि हुनुपर्छ’ : ऋषि धमला

File Photo

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले राजनीति पद र सत्ताका लागि नभई विचार, परिवर्तन र जनतालाई सम्पन्न बनाउने उद्देश्यले हुनुपर्ने बताएका छन्।

शनिबार जनमत पार्टीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै धमलाले मधेसी जनताको अधिकार र देशको विकासका लागि मधेससँग सहकार्य गर्न आफू तयार रहेको बताए।

उनले अहिलेको पुस्ताले रोजगारी खोजिरहेको भन्दै देशले असल, इमानदार र आवश्यक पर्दा पद त्याग्न सक्ने नेतृत्व खोजिरहेको धारणा राखे।

धमलाले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचन लड्न प्रस्ताव आएको पनि खुलासा गरे। उनका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह, सुधन गुरुङ र सभापति रवि लामिछानेले उनलाई रास्वपाबाट चुनाव लड्न आग्रह गरेका थिए।

‘मलाई पनि प्रधानमन्त्री बालेन शाहले रास्वपाबाट चुनाव लड्नुस् भनेर टिकट दिनुभएको थियो। सुधन गुरुङले बोलाएर भन्नुभएको थियो, रवि लामिछानेले पनि बोलाएर भन्नुभएको थियो,’ धमलाले भने, ‘तपाईं रास्वपाबाट चुनाव लड्नुस् भनेर भन्नुभयो, मैले भनेँ– यसपटक लड्दिनँ।’

उनले चुनाव जित्नु वा मन्त्री बन्नुलाई मात्रै राजनीतिको उपलब्धि मान्न नहुने बताए। ‘राजनीति भनेको विचारका लागि, परिवर्तनका लागि र जनतालाई सम्पन्न गराउनका लागि हो,’ धमलाले भने।