केन्द्रीय कार्यालय सार्ने तयारीमा रास्वपा, घरधनीले तीन महिनाभित्र खाली गर्न गरेका थिए आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकाभित्र नयाँ घर वा जग्गा खोज्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको वर्तमान कार्यालयलाई अन्यत्र सार्नुपर्ने आवश्यकता देखिएपछि नयाँ स्थानको खोजी गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकको निर्णयअनुसार उपत्यकामा पार्टीका लागि घर खरिद गर्न वा कार्यालय निर्माण गर्न उपयुक्त जमिन खोज्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गरिएको छ।

पार्टीले भनेको छ, ‘पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीका लागि जमिन/घर किन्न काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई केन्द्रीय समिति बैठकले अनुरोध गरेको छ।’

वनस्थलीस्थित कार्यालय छाड्ने तयारी

रास्वपाको हालको केन्द्रीय कार्यालय काठमाडौंको वनस्थलीमा रहेको छ। उक्त भवन पार्टीले घरधनी भरतमणि देवकोटासँग भाडामा लिएर प्रयोग गर्दै आएको थियो।

करिब एक वर्षअघि घरधनी देवकोटाले रास्वपालाई तीन महिनाभित्र घर खाली गर्न आग्रह गरेका थिए। लामो समयदेखि भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै घर खाली गर्न जानकारी गराएको उनले बताएका थिए।