काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई नक्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ।
शनिबार साँझ भट्टलाई कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको कारागार व्यवस्थापन विभागका एक अधिकारीले जानकारी ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्पर्कमा रहेको भनिएका इनम सापकोटासँग भट्टको सम्पर्क देखिएपछि उनलाई सरुवा गरिएको बताइएको छ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग इनम सापकोटामार्फत चोलेन्द्र शमशेर जबराले कुराकानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
यसैबीच प्रहरीले इनम सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको छ। प्रहरीको विशेष ब्युरोले उनलाई नियन्त्रणमा लिएर जबरासँगको सम्पर्क र अन्य सम्बन्धबारे अनुसन्धान गरेको हो।
प्रहरीले असोज ११ गते पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर पछि छाडेको थियो। सुरक्षा चुनौतीलाई कारण देखाउँदै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। यद्यपि, पछिल्ला घटनाक्रमसँगै जबरासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको देखिएको छ।
भट्ट र अग्रवाल दुवै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। उनीहरूको बाहिरी सम्पर्क तथा सम्भावित समन्वयबारे अनुसन्धान अघि बढिरहेको प्रहरी स्रोतले जनाएको छ।




प्रतिक्रिया