युवा व्यवसायी प्रकाश श्रेष्ठ “शान्तिका राजदुत” बाट सम्मानित


काठमाडौं । विगेन नेपालका संस्थापक अध्यक्ष तथा युवा व्यवसायी प्रकाश श्रेष्ठलाई विश्व शान्ति, सामाजिक सद्भाव, मानवीय मूल्य तथा समाजसेवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै Universal Peace Federation (UPF) ले ‘Ambassador for Peace’ अर्थात् ‘शान्तिका राजदूत’ को सम्मान प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति तथा अहिंसा दिवस (International Day of Peace & Non-Violence) को अवसरमा आयोजित विशेष कार्यक्रममा श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का उपकुलपति प्रा. डा. जनार्दन लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । UPF द्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ‘Ambassador for Peace’ सम्मानलाई शान्ति, सहकार्य, सामाजिक सद्भाव, मानवीय सेवा तथा सकारात्मक सामाजिक योगदानलाई प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिइन्छ ।

विगेन नेपालको नेतृत्व गर्दै श्रेष्ठले स्वास्थ्य तथा जनचेतनासँग सम्बन्धित विभिन्न गतिविधिमार्फत समुदायसँग निरन्तर सहकार्य गर्दै आउनुभएको छ । स्वास्थ्यप्रति नागरिकलाई सचेत बनाउने, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने तथा समाजमा सकारात्मक सोच र सेवाभावको विकास गर्ने उद्देश्यसहित उहाँले विभिन्न सामाजिक तथा जनचेतनामूलक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । स्वास्थ्य सेवा केवल उपचारमा मात्र सीमित नभई जनचेतना, रोकथाम र स्वस्थ जीवनशैलीको प्रवर्द्धनसँग पनि जोडिनुपर्ने मान्यताका साथ उहाँले आफ्नो कार्यक्षेत्रमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गर्दै आउनुभएको छ ।

सम्मान प्राप्त गरेपछि श्रेष्ठले कार्यक्रममा बोल्दै प्राप्त सम्मानले आफूलाई सामाजिक सेवाप्रति थप जिम्मेवार र प्रेरित बनाएको बताउनुभयो । उहाँले शान्ति, सद्भाव, आपसी एकता, मानवता र सामाजिक उत्तरदायित्वलाई जीवनको महत्वपूर्ण आधारका रूपमा लिँदै आगामी दिनमा पनि यी क्षेत्रमा आफ्नो योगदानलाई थप विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, समाजको समग्र विकासका लागि व्यक्ति, संस्था र समुदायबीच सहकार्य, सहअस्तित्व र सेवाभाव आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सकारात्मक सामाजिक परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गर्नुभयो ।

श्रेष्ठले सम्मानलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नभई आफूले प्रतिनिधित्व गर्ने संस्था, सहकर्मी तथा सामाजिक सेवामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तिहरूको साझा उपलब्धिका रूपमा लिएको बताउनुभयो । कार्यक्रम शुक्रबार ललितपुरको कुपण्डोलस्थित NIET को सेमिनार हलमा सम्पन्न भएको थियो ।