काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्तो गरिए पनि केही प्रमुख नेता भने सहभागी नहुने भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा नजाने भएका छन्। ओलीको सचिवालयले भोलि कांग्रेसको महाधिवेशनमा सहभागी हुने कार्यक्रम नरहेको जानकारी दिएको छ।
त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। यादवले आफू नजाने र पार्टीको तर्फबाट एक जना नेता कार्यक्रममा सहभागी हुने जानकारी दिए ।
‘मेरो सहभागी हुँदैन, पार्टीबाट एकजना नेता जानुहुन्छ,’ यादवले रिपोर्टर्स नेपालसँग भने।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि कांग्रेस महाधिवेशनमा नजाने भएका छन्। उनको स्थानमा पार्टीका महासचिव तथा सांसद आर्यन राई सहभागी हुने स्राेतले बतायाे ।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउत पनि उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्।
कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिएको छ। तर निम्तो पाएका केही शीर्ष नेता स्वयं उपस्थित नहुने भएपछि उनीहरूको स्थानमा सम्बन्धित दलका प्रतिनिधि सहभागी हुने भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आइतबार काठमाडौंमा हुँदैछ।




प्रतिक्रिया