जनमत पार्टीको नयाँ नेतृत्व आज टुंगिँदै, अध्यक्षमा सीके राउत निर्विरोध


वीरगञ्ज । जनमत पार्टीले नयाँ केन्द्रीय नेतृत्व पाउने भएको छ। पर्साको वीरगञ्जमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना शनिबार रातिदेखि सुरु भएसँगै आज नयाँ नेतृत्वको टुंगो लाग्ने भएको हो।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि उम्मेदवारी परेको थियो। पार्टीका पर्सा अध्यक्ष एवं महाधिवेशन व्यवस्थापन समितिका संयोजक ओमप्रकाश सर्राफका अनुसार शनिबार राति ९ बजेदेखि मतगणना सुरु गरिएको हो।

अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ। राउत निर्विरोध हुने भए पनि पार्टीको विधानमा अध्यक्षका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था भएकाले उनको पक्षमा पनि मतदान भएको छ।

सात उपाध्यक्षका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ। महासचिव पदमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि नौ जना मैदानमा छन्।

त्यस्तै, कार्यकारिणी सदस्यका ७३ जना उम्मेदवारबीच पनि प्रतिस्पर्धा भएको छ। महाधिवेशनमा १ हजार १५५ प्रतिनिधिले मतदान गरेका थिए।

जनमत पार्टीको महाधिवेशन उद्घाटन समारोह पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको थियो। शहीद परिवारको प्रतिनिधित्व गर्दै राधा यादवलाई प्रमुख अतिथि बनाइएको थियो।