काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विश्वका विभिन्न देशका प्रमुख राजनीतिक दल, सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूले सफलताको शुभकामना व्यक्त गरेका छन्।
छिमेकी मुलुक भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले महाधिवेशन सफलताको शुभकामना पठाएका छन्। त्यसैगरी, उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले पनि कांग्रेसको यस १५औँ महाधिवेशनको पूर्ण सफलताको कामना गरेको छ।
वैचारिक एवं संस्थागत सम्बन्धका हिसाबले विश्व राजनीतिमा महत्त्वपूर्ण मानिने अन्तर्राष्ट्रिय संस्थाहरूले पनि महाधिवेशनप्रति ऐक्यबद्धता जनाएका छन्। सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष एवं स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) स्ट्यान्डिङ कमिटीले छुट्टाछुट्टै सन्देशमार्फत शुभकामना व्यक्त गरेका छन्।
यसैगरी, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान, बेलायतको सत्तारूढ लेबर पार्टीका साथै एसिया र युरोपका विभिन्न राजनीतिक दल तथा संस्थाहरूले पनि नेपाली कांग्रेसलाई महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।
क्षेत्रीय तथा विश्वव्यापी राजनीतिमा आएका फेरबदलका बीच शुरू भएको नेपाली कांग्रेसको यस महाधिवेशनले समुन्नत नेपाल र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विश्वास अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको छ।




प्रतिक्रिया