संविधानमा त्रुटिका चाङ छ, सुधार्नुको विकल्प छैन : राजेन्द्र लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको बताएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्।

कांग्रेसको अघिल्लो महाधिवेशनको स्मरण गर्दै अध्यक्ष लिङ्देनले भने, ‘१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालको उपस्थिति थियो, आज उहाँहरू देखिनुहुन्न। तर, देशको अवस्थामा र नेताहरूलाई हेर्ने जनताको दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन।’

उनले चुनावपछि ६ महिनाको अभ्यासले मान्छे फेरेर मात्र समस्याको समाधान नहुने स्पष्ट पारेको बताए । ‘समस्या व्यक्तिमा मात्र होइन, हामीले उत्कृष्ट भनेर ल्याएको संविधान र व्यवस्थामा छ,’ उनले भने, ‘संविधान त्रुटिका चाङले भरिएको छ, अब यसलाई सुधार्नुको विकल्प छैन।’

हिजोको निषेधको राजनीति ले मुलुकलाई बर्बादीतर्फ लगेको बताउँदै लिङ्देनले अबको बाटो राष्ट्रिय सहमति भएको जिकिर गरे । ‘हिजो राजाले दललाई र दलले राजालाई निषेध गर्ने काम भयो, यसको परिणाम देशले भोगिरहेको छ,’ उनले भने । हिजो गलत कुरा गर्दा गोलीको सामना गर्नुपर्ने अवस्था थियो भने आज सामाजिक सञ्जालमा आक्रमण हुने गरेको उल्लेख गर्दै उनले सहिष्णुताको खाँचो औँल्याए ।