गगन थापामाथि देशको नेतृत्व गर्ने ठूलो जिम्मेवारी आएको छ : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने समय आएको बताएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले थापाको काँधमा देश र पार्टीको ठूलो जिम्मेवारी आइपरेको उल्लेख गरेका हुन्।

आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै प्रचण्डले भने, “मैले त्यतिबेलै भन्थेँ- तपाईँले यो देशको नेतृत्व गर्ने बेला आउन सक्छ। आज त्यो समय आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ।”

सम्बोधनका क्रममा प्रचण्डले नवनिर्वाचित सभापति थापालाई पार्टीभित्रका बाँकी सबै पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिए। साथै, पछिल्लो समय राजनीतिक वृत्तमा आफूलाई ‘नयाँ’ भन्नेहरूले पुराना र अनुभवी अग्रजहरूलाई अपमान गर्ने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गरे।

गगन थापालाई त्यस्तो व्यवहार नदोहोर्‍याउन आग्रह गर्दै उनले बुढापाकाको सम्मान र अनुभवलाई जोडेर अघि बढ्न ध्यानाकर्षण गराएका छन्।