काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको खुलामञ्चस्थित मञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेसको साङ्गठनिक निष्ठा र अवसरको वितरणमा देखिएको विचलनमाथि प्रश्न उठाए।
“कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला,” मञ्चमा रहेका कांग्रेस शीर्ष नेतृत्वतर्फ लक्षित गर्दै उनले भने, “दुर्गम र पछाडि परेका व्यक्तिलाई अगाडि ल्याउन अवसर दिएको भए म पनि कांग्रेस हुन्थेँ होला। यति लहलहाउँदो रुखलाई छाडेर अरूलाई भोट हाल्न बाध्य नबनाएको भए म पनि कांग्रेस हुन्थेँ होला।”
लामिछानेले कांग्रेसलाई आफ्ना नीति, विचार र कार्यशैलीमा समयानुसार व्यापक सुधार गर्न सुझाव दिँदै निष्ठाको राजनीति कमजोर भएकै कारण पुराना दल छाडेर नागरिकहरू नयाँ विकल्पतर्फ आकर्षित हुनुपरेको तर्क पेस गरे।
राजनीतिक वृत्तमा निरन्तर चलिरहने सरकार फेरबदल र स्थायित्वको चर्चाबारे टिप्पणी गर्दै लामिछानेले सरकार ढाल्ने हल्ला फैलाउनेहरूमाथि व्यङ्ग्य गरे।
“सरकार ढल्छ, अहिले ढल्छ, दसैँ–तिहारपछि सरकार ढल्छ भन्नेहरू सरकार नढलेको देखेर बेहोस भएर ढल्छन्,” उनले भने।
लोकतन्त्र सङ्कटमा परेको भन्दै दलहरूले दिने दुहाइप्रति आपत्ति जनाउँदै उनले लोकतन्त्रको रक्षा जनता स्वयंले गर्ने दाबी गरे।
सत्ता परिवर्तनका लागि सडक आन्दोलनको साटो लोकतान्त्रिक विधिलाई नै आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले स्पष्ट पारे, “सरकार आन्दोलनबाट ढल्दैन, अब चुनावबाट मात्र सरकार फेर्ने काम गरौँ।”




प्रतिक्रिया