काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको खुलामञ्चस्थित सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूको परम्परागत भाष्यमाथि कडा प्रश्न उठाएका छन्। लोकतन्त्र सङ्कटमा परेको भन्दै दलहरूले गर्दै आएको दाबीप्रति आपत्ति जनाउँदै उनले लोकतन्त्रको संरक्षण गर्ने मुख्य अधिकार र दायित्व जनताकै हातमा रहेको स्पष्ट पारे।
राजनीतिक वृत्तमा पुराना दलहरूले आफूलाई मात्र लोकतन्त्रको पहरेदारका रूपमा प्रस्तुत गर्ने शैलीप्रति लामिछानेले सीधा कटाक्ष गरे। “लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्,” मञ्चमा रहेका पुराना दलका शीर्ष नेताहरूतर्फ सङ्केत गर्दै उनले भने, “लोकतन्त्रलाई कुनै खतरा छैन, खतरा भए जोगाउने जनता छन्। जनताले नै जोगाउँछन्। तर लोकतन्त्रको नाममा अब हामीले विधि स्थापना गर्नुपर्छ।”
उनले दलहरूलाई लोकतन्त्र जोगाउने दुहाइ दिएर जनतालाई भ्रममा नपारी मुलुकमा कानुनको पालना र विधिको शासन स्थापित गर्न ध्यान केन्द्रित गर्न आग्रह गरे।
सरकार ढाल्ने र सडक आन्दोलन चर्काउने चेतावनी दिने शक्तिहरूलाई लक्षित गर्दै रास्वपा सभापतिले सत्ता परिवर्तनको वैधानिक बाटो सडक नभई निर्वाचन नै हुनुपर्नेमा जोड दिए।
“आन्दोलनले सरकार ढाल्छौँ भन्ने र आँधीबेहरीका कुरा पनि सुनिरहेको छु,” लामिछानेले भने, “आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ। अब चुनावबाट मात्रै सरकार फेरौँ, चुनावले नै सरकार फेराउँछ।”
निरन्तर सरकार ढल्ने हल्ला फैलाएर अस्थिरताको वातावरण सिर्जना गर्न खोज्नेहरूमाथि व्यङ्ग्य गर्दै उनले थपे, “सरकार ढल्छ ढल्छ भन्ने मान्छेचाहिँ सरकार नढलेको देखेर आफैँ बेहोस भएर ढल्न सक्छन्।”
लोकतन्त्रलाई सैद्धान्तिक भाषण र नारामा सीमित नराखेर निष्पक्ष निर्वाचनका माध्यमबाट मात्रै समृद्ध बनाउन सकिने उनको तर्क थियो। नागरिकले निर्वाचनमार्फत व्यक्त गरेको अभिमतको अवमूल्यन नगर्न आग्रह गर्दै उनले भने, “लोकतन्त्रलाई निर्वाचनका माध्यम र यसको निष्पक्ष अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिन्छ। त्यसैले जनताले रास्वपालाई दिएको अपार मतलाई कसैले पनि अपमान नगर्नुहोस्।”




प्रतिक्रिया