‘पार्टीभित्र कचकच गर्नेलाई छोडिदिए हुन्छ’: रवि लामिछाने


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको खुलामञ्चस्थित उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेसको आन्तरिक किचलो र व्यवस्थापकीय चुनौतीप्रति कटाक्ष गर्दै सभापति गगन थापालाई अनौठो राजनीतिक सुझाव दिएका छन्। पार्टीभित्र निरन्तर असन्तुष्टि जनाउँदै नेतृत्वको शक्ति क्षय गराउने नेता-कार्यकर्तालाई सम्झाउनुभन्दा बाटो खाली गरिदिनु नै श्रेयस्कर हुने उनको भनाइ थियो।

सम्बोधनका क्रममा लामिछानेले कांग्रेसभित्रको आन्तरिक खिचातानीतर्फ सङ्केत गर्दै भने, “कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ।”

उनले पार्टीभित्रका त्यस्ता असन्तुष्ट पक्षलाई मिलाउनमै सिङ्गो नेतृत्वको शक्ति र समय खर्च भइरहेकोतर्फ सङ्केत गर्दै बेला-बेला कडा र स्पष्ट निर्णय लिनुपर्ने तर्क पेस गरे।

आफ्नो सो सुझावलाई कांग्रेस सभापति गगन थापासँग जोड्दै लामिछानेले व्यङ्ग्यात्मक शैलीमा भने, “यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु। मान्ने/नमान्ने तपाईंको जिम्मा।”

यद्यपि, सभापति लामिछानेले गगन थापालाई यसअघि कुन प्रसङ्गमा ‘पहिलो गुन’ लगाएका थिए भन्ने विषय भने खुलाएनन्।