‘पहिलो खुलामञ्च संसदभित्रै चाहिएको छ’ : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदभित्रै खुलामञ्चको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले वर्तमान संसद खुला नभई बन्दजस्तै अवस्थामा रहेको टिप्पणी गरेका हुन् ।

जनसरोकारका मुद्दामा सार्थक बहस र लोकतान्त्रिक अभ्यासका लागि संसदभित्र खुला वातावरण हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ । संसद खुला छैन, संसद बन्द छ ।’

संसदको गरिमा, समग्र व्यवस्था र जनताको अधिकारका लागि प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य हुने थापाको भनाइ थियो । प्रधानमन्त्रीलाई सत्ता पक्ष र प्रतिपक्ष दुवैको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै उनले संसदप्रति प्रधानमन्त्रीको उत्तरदायित्वमाथि प्रश्न उठाए ।

‘जहाँका सांसदले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदको निम्ति र नबनाउने सांसदका निम्ति पनि संसदको गरिमा, व्यवस्था र जनताका लागि हुनुपर्छ,’ थापाले भने, ‘जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन, त्यो ठाउँ खुला भएको हुँदैन । त्यसैले संसदभित्रै खुलामञ्च चाहिएको छ ।’