महाधिवेशनबाट बीपीको पार्टीले नयाँ सन्देश र संकल्प लिनुपर्छ’ : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन नेतृत्व चयन गर्ने इभेन्ट मात्र नभएको बताएका छन् । खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले खुलामञ्चबाटै बीपी कोइरालाको पार्टीले नयाँ सन्देश दिने र संकल्प गर्ने बताएका हुन् ।

खुलामञ्चलाई महाधिवेशनस्थलका रूपमा चयन गर्नुको कारण खुलाउँदै थापाले फरक विचार र मान्छेहरूलाई एउटै सार्वजनिक ठाउँमा ल्याउनु यसको मुख्य विशेषता भएको उल्लेख गरे ।

‘खुलामञ्चको एउटा विशेषता छ, यसले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ,’ थापाले भने, ‘खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन । मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च ।’

नेपालका विभिन्न क्षेत्र र निकायमा यस्तै खुला वातावरण आवश्यक रहेको बताउँदै उनले पहिलो खुलामञ्च संसद्भित्रै चाहिएको टिप्पणी गरे । संसद् हाल खुला नभई बन्दजस्तै अवस्थामा रहेको दाबी गर्दै उनले प्रधानमन्त्रीको उत्तरदायित्व र उपस्थितिबारे प्रश्न उठाए ।