‘नागरिकको अपेक्षा पूरा गर्न चुक्यौँ, सत्ताको खेलले वितृष्णा बढायो’ : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले २०६२/६३ को आन्दोलनपछि पुराना दलहरूलाई नागरिकले दिएको विश्वास र मायाको उचित सम्मान गर्न नसकेको स्वीकार गरेका छन्। काठमाडौँको खुलामञ्चमा आइतबार आयोजित पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सत्ताको दौडधुपले नागरिकमा राजनीतिप्रति चरम वितृष्णा सिर्जना गरेको बताए।

“हामीलाई प्रधानमन्त्रीको कुर्सी पाउन दौडिएको र सत्ताका लागि मिल्ने-झगडा गर्ने गरेको नागरिकले देखे,” थापाले भने, “मानौँ, त्यो सत्ताको एउटा म्युजिकल चेयर थियो। नागरिकका अपेक्षा पूरा गर्न हामी चुक्यौँ।” सत्ता र बहुमतको मातमा रहँदा दलहरूले समाजभित्र विकसित भइरहेको असन्तुष्टिको पदचाप बुझ्न नसकेको उनले बताए।

दलहरूप्रतिको असन्तुष्टिका कारण समाजमा ‘एन्टी पोलिटिक्स’ (राजनीतिप्रति चरम वितृष्णा) र ‘हाइपर पोलिटिक्स’ (हरेक क्षेत्रमा अत्यधिक राजनीति) गरी दुई प्रवृत्ति विकसित भएको थापाको विश्लेषण छ। एकातिर नागरिकले ‘आई हेट पोलिटिक्स’ भन्ने तर अर्कोतिर चियापसल, सामाजिक सञ्जालदेखि मनोरञ्जनका हरेक माध्यममा राजनीति नै हाबी हुने अस्वाभाविक स्थिति बनेको उनले उल्लेख गरे।

वर्षौँदेखि थुप्रिएको यही आक्रोशको परिणाम भदौ २३ र २४ गतेको घटनाका रूपमा सतहमा आएको भन्दै सभापति थापाले त्यस उभारबाट कांग्रेसले गम्भीर राजनीतिक पाठ सिक्नुपर्ने बताए।