आठराई गाउँपालिकामा नगर बस सञ्चालन : सङ्क्रान्ति बजारबाट फिदिमसम्म सीधा सेवा सुरु


तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ । नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरी गाउँपालिकाले यो सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । 

नगर बस खरिद तथा सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

उक्त नगर बस आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजारदेखि छिमेकी जिल्ला पाँचथरको सदरमुकाम फिदिमसम्म दैनिक सञ्चालन हुने भएको छ । सङ्क्रान्तिदेखि फिदिमसम्मको दूरी करिब ३५ किलोमिटर रहेको छ । सो रुटका लागि भाडादर दुई सय रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष बलिराज इङ्नामले जानकारी दिए ।

नगर बसमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा विद्यार्थी परिचयपत्र बोकेका विद्यार्थीले निःशुल्क यात्रा गर्न पाउनेछन् । यस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उपाध्यक्ष इङ्नामले बताए ।

नगर बस हरेक दिन बिहान ८:०० बजे सक्रान्ति बजारबाट फिदिमतर्फ छुट्नेछ । फिदिमबाट भने अपराह्न ३:०० बजे आठराईका लागि फर्किने गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बास्कोटाले जानकारी दिए ।

आठराई गाउँपालिकावासीको मुख्य व्यापारिक केन्द्र पाँचथरको फिदिम भएकाले उक्त रुटमा नगर बस सञ्चालन गरिएको हो । यसका लागि पाँचथरको फिदिम नगरपालिकासँग पनि साझेदारी गरिएको छ ।

नगर बस सञ्चालनमा आएपछि नागरिकको आवागमन सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । यसबाट पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, व्यापार विस्तार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठुलो सहयोग पुग्ने अध्यक्ष दिलकुमार पाहिमको भनाइ छ ।