मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताबाट बलियो उपस्थिति जनाएका मोरङका सुविन पराजुलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। ३५ वर्षमुनिको युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित पराजुलीले युवाको आवाज पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामै स्थापित गर्न केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।
मोरङ क्षेत्र नं. ३ बाट युवा खुलातर्फ ५०६ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित पराजुली पथरीशनिश्चरे नगरपालिका–१ का हुन्।
“युवाका मुद्दा सडक र बहसमा मात्रै सीमित हुनु हुँदैन। पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामै युवाको अर्थपूर्ण सहभागिता आवश्यक छ,” उनले भने, “केन्द्रीय तहमा युवाको आवाज स्थापित गर्ने उद्देश्यले उम्मेदवारीको तयारी गरेको हुँ।”
सामाजिक जवाफदेहिता, लैंगिक समानता, समावेशिता, दिगो विकास, युवा सहभागिता तथा कृत्रिम बुद्धिमत्तालगायत विषयमा सक्रिय पराजुलीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध भएर अनुसन्धान, पैरवी र क्षमता विकासका क्षेत्रमा समेत काम गरेका छन्।
१८ वर्षमै जिल्ला नेतृत्व
पराजुलीको राजनीतिक सक्रियता विद्यार्थी जीवनबाटै सुरु भएको हो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनका क्रममा कांग्रेसको प्रचार अभियानमा सहभागी भएका उनी २०७२ सालको भूकम्पपछि राहत तथा सामाजिक अभियानमा समेत सक्रिय भए।
२०७३ सालमा नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनमा सहभागी भएपछि उनको विद्यार्थी राजनीति थप सक्रिय बन्यो। २०७३ देखि २०७८ सालसम्म काठमाडौंमा रहेर नेविसंघको राजनीतिमा सक्रिय उनले युवा परिचालन र संगठन विस्तारमा काम गरे।
पथरीशनिश्चरेमा कांग्रेसका गतिविधि कमजोर हुँदै गएको भन्दै २०७५ सालमा १८ वर्षकै उमेरमा जीपी अध्ययन केन्द्रको मोरङ जिल्ला अध्यक्ष बनेका पराजुलीले त्यसबेला रामशरण महत, मिनेन्द्र रिजाल, अमृत अर्याल, कुन्दनराज काफ्ले र डिगबहादुर लिम्बूलगायत नेताहरूलाई एउटै मञ्चमा ल्याएका थिए।
२०७७ सालमा उनले गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरु घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियारलगायत युवा नेताहरूलाई एउटै मञ्चमा ल्याएर ‘गिरिजाबाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरूको भूमिका’ विषयमा बहस गर्ने तयारी गरेका थिए।
तर पार्टीभित्रको आन्तरिक गुटबन्दी र स्थानीय नेताहरूको पर्याप्त सहयोग नपाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गर्नुपरेको उनले बताए। कार्यक्रम स्थगित भए पनि उनले सोही वर्ष तत्कालीन महामन्त्री डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल र गुरुराज घिमिरेलगायत नेताको उपस्थितिमा पथरीशनिश्चरेमा खुला आमसभा आयोजना गरेका थिए।
कांग्रेसको नेतृत्वमा अहिले युवा पुस्ताको उपस्थिति बढ्दै गएकोमा भने पराजुली सन्तुष्ट छन्। गगन थापा कांग्रेसको नेतृत्वमा आएसँगै आफूले विगतमा देखेको युवा नेतृत्वको सपना पूरा हुँदै गएको उनको बुझाइ छ।
जिल्ला राजनीतिबाट केन्द्रीय नेतृत्वतर्फ
कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा अत्यधिक मतसहित निर्वाचित भएका पराजुलीले सोही महाधिवेशनबाट मोरङ जिल्ला सदस्यमा पनि प्रतिस्पर्धा गरेका थिए। करिब एक हजार मत पाए पनि उनी निर्वाचित हुन सकेनन्।
२०७९ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेपछि उनले युवा सहभागिता र संगठन विस्तारलाई प्राथमिकता दिए। २०८१ सालमा उनकै नेतृत्वमा नेविसंघ केन्द्रीय समितिले काठमाडौंको राष्ट्रिय सभागृहमा ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सान्दर्भिकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठी आयोजना गरेको थियो।
विभिन्न आन्दोलनमा सहभागी भएका पराजुली नेविसंघका तत्कालीन अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा भएको सडक आन्दोलनका क्रममा आरआर कलेज अगाडि प्रहरीको दमनमा परी हात भाँचिएको बताउँछन्।
‘हामीजस्ता जेन्जीलाई पनि अवसर दिनुपर्छ’
पार्टीभित्र पुस्तान्तरण र युवाको प्रतिनिधित्वबारे बहस भइरहेका बेला पराजुलीले आफूहरू राजनीतिक र सामाजिक चेतनासहित आएको जेन्जी पुस्ता भएको दाबी गरेका छन्।
‘तपाईं जस्तो जेन्जीलाई कांग्रेसले केन्द्रीय समितिमा स्थान देला?’ भन्ने प्रश्नमा उनले भने, “हामी सामाजिक, राजनीतिक ज्ञान र अनुभव प्राप्त गरेका जेन्जी हौँ। आजको समाजले तोडफोड र आगजनी गर्ने जेन्जीलाई देशको नेतृत्व सुम्पिएको देख्दा हामीजस्ता जेन्जीलाई कांग्रेसजनले स्वीकार गर्नुपर्छ।”
उनले युवालाई केवल नारामा सीमित नराखी पार्टीको नेतृत्व र नीति निर्माणको तहमा अवसर दिनुपर्ने बताए।




प्रतिक्रिया