विगतका गल्तीबाट पाठ सिकेर कांग्रेस रूपान्तरणको महाअभियानमा जुट्नुपर्छ: कविर शर्मा


काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का सभापति कविर शर्माले पार्टीले विगतका कमजोरीबाट गम्भीर पाठ सिक्दै संगठन र नेतृत्वको रूपान्तरणका लागि नयाँ अभियान सुरु गर्नुपर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शर्माले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले आफ्ना कार्यशैली, संगठन र नेतृत्वमा सुधार गर्नुपर्ने बताएका हुन्।

खुला मञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै शर्माले १७ वर्षको उमेरदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ)को कार्यकर्ताका रूपमा सुरु भएको आफ्नो राजनीतिक यात्रा त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य हुँदै अहिले ३८ वर्षको उमेरसम्म आइपुगेको बताए। दुई दशकभन्दा लामो राजनीतिक यात्रामा आफू निष्ठा र सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढेको उनको भनाइ थियो।

शर्माले पछिल्लो समय देश र कांग्रेसले भोगेको कठिन परिस्थितिको समीक्षा गर्दै राजनीतिक दलहरूले समयमै जनअपेक्षाअनुसार सुशासन दिन नसकेको विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा राजनीतिक दलहरू समयमै प्रभावकारी कदम चाल्न चुकेका कारण जनतामा असन्तुष्टि बढेको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी कांग्रेसले पनि लिनुपर्ने धारणा राखे।

त्यही असन्तुष्टिको वातावरणमा विभिन्न अराजक गतिविधिले स्थान पाएको भन्दै शर्माले आफूले समेत परिवारसहित घर छाड्नुपरेको पीडादायी अवस्था स्मरण गरे।

उनले अब विगतका कमजोरी दोहोर्‍याउनेभन्दा त्यसबाट पाठ सिकेर कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने समय आएको बताए।

शर्माले कांग्रेसको इतिहास र योगदानलाई जोगाउँदै वर्तमान चुनौतीको सामना गर्न संगठनलाई थप जनमुखी, जवाफदेही र समयअनुकूल बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार पार्टीभित्र पुस्तान्तरण, नेतृत्वको जवाफदेहिता, सुशासन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्न सके मात्रै कांग्रेसले जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउन सक्छ।

उनले १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने नियमित प्रक्रिया नभई पार्टीको विगतको समीक्षा गर्दै आगामी राजनीतिक दिशाबारे गम्भीर बहस गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

“विगतका गल्तीबाट पाठ सिकेर अब कांग्रेस रूपान्तरणको महाअभियानमा जुट्नुपर्छ,” शर्माले भने।