३५ वर्षमुनिको युवातर्फ कांग्रेस केन्द्रीय सदस्यमा दोर्जी शेर्पाको उम्मेदवारी


धरान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवातर्फ केन्द्रीय सदस्य पदमा दोर्जी शेर्पाले उम्मेदवारी दिने तयारी गरेका छन्। नेविसंघको एकाइ तहबाट राजनीतिक यात्रा सुरु गरेका शेर्पा अहिले कोशी प्रदेश अध्यक्षको जिम्मेवारीमा छन्।

शेर्पाको राजनीतिक यात्रा वि.सं. २०६८ सालमा नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस धरान एकाइ सदस्यबाट सुरु भएको थियाे । संगठनमा सक्रिय हुँदै उनी २०७१ सालमा एकाइ सह–सचिव बनेका थिए ।

वि.सं. २०७३ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवको जिम्मेवारी सम्हालेका शेर्पाले २०७४ देखि २०७८ सालसम्म नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस धरान एकाइ समितिको कार्यवाहक अध्यक्ष भएर काम गरे।

विद्यार्थी राजनीतिसँगै पार्टीको मूल संगठनमा समेत सक्रिय रहेका शेर्पा कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेश प्रतिनिधि बने।

वि.सं. २०७९ सालमा नेविसंघ केन्द्रीय कार्यसमिति सदस्य बनेका शेर्पाले त्यसपछि विद्यार्थी संगठनको केन्द्रीय तहमा रहेर संगठन विस्तार, युवा परिचालन तथा विद्यार्थीका मुद्दामा काम गर्दै आएका छन्।

वि.सं. २०८२ सालमा उनी नेविसंघ कोशी प्रदेश अध्यक्ष बने। हाल पनि उनी संगठनको गतिविधिमा निरन्तर सक्रिय छन्।

एकाइ सदस्यदेखि सह–सचिव, स्ववियु सचिव, कार्यवाहक अध्यक्ष, केन्द्रीय सदस्य हुँदै कोशी प्रदेश अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका शेर्पाले अब पार्टीको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्य लिएका छन्।

उनले ३५ वर्षमुनिको युवा खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन्। युवालाई पार्टीको नीति निर्माण र नेतृत्वको तहमा थप प्रभावकारी रूपमा सहभागी गराउने तथा विद्यार्थी राजनीतिबाट आएका युवालाई पार्टीको मूलधारमा स्थापित गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राख्ने उनको तयारी छ।