काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. कला पन्तले युवा महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
पन्तले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि नयाँ पुस्ताको राजनीतिक आवाज, महिला नेतृत्व र पार्टीभित्रको राजनीतिक संस्कार परिवर्तन गर्ने अभियानका रूपमा प्रस्तुत गरेकी छन्।
महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना तथा काठमाडौंमा स्वागत गर्दै उनले सानै उमेरदेखि राजनीतिक गतिविधिमा सक्रिय रहेको अनुभव र विद्यार्थी राजनीतिबाट प्राप्त सिकाइलाई आफ्नो उम्मेदवारीको आधार बनाएकी छन्।
उनका अनुसार पार्टीले युवालाई प्रोत्साहन गर्ने दिशामा गरेका नीतिगत परिवर्तनले पनि आफूलाई केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्न प्रेरित गरेको हो।
“यो उम्मेदवारी मेरो लागि एउटा पद प्राप्तिको गोरेटो मात्र होइन, आफ्नो आस्था, विचार अनि राजनीतिक संस्कारको लडाइँ हो,” पन्तले भनेकी छन्।
उनले पार्टीको केन्द्रीय निर्णय प्रक्रियामा युवाको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्ने, महिलाको सहभागितालाई निर्णायक नेतृत्व तहसम्म पुर्याउने तथा योग्यता, दक्षता र परिणाममा आधारित राजनीतिक संस्कार विकास गर्ने लक्ष्य अघि सारेकी छन्।
समयसँगै नयाँ पुस्ताले राजनीतिबाट राख्ने अपेक्षा परिवर्तन भइरहेको भन्दै पन्तले ती अपेक्षा सम्बोधन गर्न नेतृत्व गर्ने शैलीसमेत परिवर्तन हुनुपर्ने बताएकी छन्।
“म यस्तो कांग्रेस चाहन्छु, जहाँ पहुँचभन्दा क्षमता, नाताभन्दा योग्यता र नाराभन्दा काम महत्वपूर्ण होस्,” उनले भनेकी छन्।
नयाँ पुस्ताको ऊर्जा, महिलाको नेतृत्व, पेशागत दक्षताको सम्मान र जिम्मेवार राजनीतिक संस्कारलाई आफ्नो मुख्य राजनीतिक संकल्पका रूपमा अघि सारेकी पन्तले कांग्रेसलाई समयअनुकूल र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएकी छन्।
उनले आफ्नो उम्मेदवारीमा महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग र मतको अपेक्षा गरेकी छन्।




प्रतिक्रिया