पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन


सुनसरी, १९ असोज । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा यही असोज १४ गतेदेखि इटहरीमा जारी श्रम रोजगार मेलालाई आइतबार सम्बोधन गर्दै मन्त्री पुनले विश्वविद्यालय तथा कलेजमा पठनपाठनसँगै अनुसन्धान, आविष्कार र नवप्रवर्तनका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए ।

विद्यार्थीलाई जागिर खोज्नेमात्र नभई नयाँ वस्तु तथा प्रविधिको विकास गरी त्यसको व्यवसायीकरणमार्फत आफैँ उद्यमी बन्न सक्ने बनाउनुपर्ने मन्त्री पुनको भनाइ थियो ।

“पढेरमात्रै जागिर पाइँदैन, पढाइको साथसाथै सीप हुनुपर्यो”, उनले भने, “नवप्रवर्तनमार्फत उत्पादित वस्तुको व्यवसायीकरण गरेर आफैँ उद्यमी बन्न सके जागिर खोज्नु पर्दैन ।”

विश्वविद्यालय तथा कलेजमा नवप्रवर्तन केन्द्र स्थापना गरी आवश्यक उपकरण तथा स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । उनले नेपालमा उपलब्ध जडीबुटीको अध्ययन, अनुसन्धान तथा प्रयोगका लागि आवश्यक प्रयोगशाला निर्माण गर्नुपर्ने मन्त्री पुनको भनाइ छ ।