काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज विभिन्न पदमा मनोनयन दर्ता हुँदैछ । यसैबीच पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले गगन थापासँग सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्। उनले आफु सभापतिमा पराजित हुन्छु भन्ने थाहा हुँदाहुँदै पनि उम्मेदवारी दिन लागेकाे बताए ।
उनले २५ वर्षअघि नेपाल विद्यार्थी संघको अध्यक्षमा उम्मेदवारी दिँदासमेत आफूलाई हराउन ‘साम, दाम, दण्ड र भेद’ प्रयोग गरिएको दाबी गरे। ‘२५ वर्षअघि नेविसंघ अध्यक्ष लड्दै गर्दा पनि मलाई बनाउँदैन भन्ने थाहा थियो। साम, दाम, दण्ड र भेद प्रयोग गरेर मलाई हराइयो,’ उनले भने, ‘मलाई थाहा छ, विशेष महाधिवेशन पक्षधरले मलाई मान्नेवाला छैन।’
विशेष महाधिवेशनमा आफू सहभागी नभएको प्रसंगमा राठौरले पार्टी कार्यालयहरू जलेको, नेताहरू लखेटिएको तथा कुटपिट भएको अवस्थामा आन्तरिक विवाद थप चर्काउन नहुने धारणा राखेको बताए। त्यतिबेला आफूले विशेष महाधिवेशनमा जानुभन्दा गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा केन्द्रित हुनुपर्ने प्रस्तावसमेत राखेको उनको भनाइ छ।
‘पार्टीभित्र अहिले झगडा गर्ने बेला होइन, मिलेर जाऊँ भनेर मैले गगन थापाजीकै निकटमार्फत प्रस्ताव पठाएको हो,’ राठौरले भने। पार्टीले आन्तरिक विवादभन्दा राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका र आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आफ्नो बुझाइ रहेको उनले बताए।
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि आफ्नो गृहजिल्ला बर्दियामा समेत आफूलाई महाधिवेशन प्रतिनिधिमै रोक्न घेराबन्दी गरिएको राठौरले आरोप लगाए।
राठौरले कांग्रेसको लामो राजनीतिक यात्रामा आफूले धेरै संघर्ष गरेको स्मरण गर्दै आफू पद र व्यक्तिगत लाभका लागि राजनीतिमा नआएको दाबी गरे। ‘म राजनीतिमा केही पाउन आएको होइन। म देशको लागि, जनताको लागि राजनीतिमा आएको हो,’ उनले भने, ‘मलाई पञ्चायतमै धेरै अवसर पाउँदा–पाउँदै नेविसंघ रोजेको हुँ।’




प्रतिक्रिया