श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन, नदिए उजुरी गर्न आग्रह


काठमाडौं । श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ। चाडपर्व खर्च नपाएको भन्दै गुनासो आउन थालेपछि विभागले यस्तो निर्देशन दिएको हो।

श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकलाई प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा दिनुपर्ने व्यवस्था छ।

तर, कतिपय रोजगारदाता तथा प्रतिष्ठानले कानुनी व्यवस्था कार्यान्वयन नगरेको गुनासो आएपछि विभागले चाडपर्व खर्च अनिवार्य उपलब्ध गराउन आग्रह गरेको हो।

विभागले चाडपर्व खर्च नपाउने श्रमिकलाई आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन अनुरोध गरेको छ। श्रमिकले इमेलमार्फत पनि आफ्ना उजुरी, गुनासा तथा सुझाव पठाउन सक्नेछन्। यसका लागि विभागले क्यूआर कोडको व्यवस्था समेत गरेको छ।

विभागका प्रवक्ता मणिनाथ गोपले केही रोजगारदाता तथा प्रतिष्ठानले चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो प्राप्त भइरहेको बताए। कानुनअनुसार श्रमिकलाई उक्त सुविधा दिन निर्देशन दिइएको उल्लेख गर्दै उनले अटेर गर्ने रोजगारदातामाथि श्रम ऐनअनुसार कारबाही गरिने स्पष्ट पारे।