काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङको बीचमा पहिरो खसेर थुनिएको बुढीगण्डकी नदी पुनः प्रवाह हुन थालेपछि बाढीको जोखिम बढेको छ। नदी थुनिएको स्थानबाट पानी बग्न थालेसँगै सम्भावित बाढीलाई मध्यनजर गर्दै प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार आइतबार बिहान ५ः३० बजे पहिरोका कारण बुढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
नदी थुनिएपछि तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउँदै सचेत गराइएको थियो। बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि नदीमा ठूलो बाढी आएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।
बाढीले थप जोखिम निम्त्याउन सक्ने भएकाले प्रहरीले त्रिशूली दोभानसम्म बुढीगण्डकी नदीको किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, नदीको बहाव सामान्य अवस्थामा नफर्किएसम्म सुरक्षित उच्च स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
सम्भावित जोखिमबाट बच्न नदी आसपासका बासिन्दा तथा यात्रुहरूले प्रहरीको सूचनालाई ध्यान दिन र नदी किनारमा आवतजावत नगर्न आग्रह गरिएको छ।




प्रतिक्रिया