काठमाडौं । गोरखामा आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। बाढीले विभिन्न बस्तीका घर तथा टहरामा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा रहेको न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ। तीनवटा पुल बगाउँदा सम्बन्धित क्षेत्रको आवागमन प्रभावित भएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको हो।
बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर पूर्ण रूपमा बगाएको छ भने अर्को घरमा बाढी पसेको प्रहरीले जनाएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा पनि बाढी पसेको छ। उक्त क्षेत्रमा ५ देखि ७ वटासम्म घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।
बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।




प्रतिक्रिया