बूढीगण्डकीमा आएको बाढीका कारण राष्ट्रिय जेन्जी अभियानको चियापान स्थगित


काठमाडौं । गोरखाको चुमनुब्री क्षेत्र हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो तथा गेग्रानसहितको आकस्मिक ठूलो बाढी आएपछि राष्ट्रिय जेन्जी नागरिक अभियानले आज आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ ।


अभियानले बडादसैँ, तिहार, छठ पर्व तथा नेपाल संवत्को अवसरमा आइतबार बिहान ११ बजे काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो ।


बूढीगण्डकी नदीमा आएको बाढीबाट उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको अभियानले जनाएको छ ।


विपद्को यस घडीमा राहत तथा मानवीय सहयोगका कार्यमा सबैको ध्यान केन्द्रित होस् भन्ने उद्देश्यले कार्यक्रम स्थगित गरिएको अभियानद्वारा जारी सूचनामा उल्लेख छ ।


स्थगित कार्यक्रमको नयाँ मिति र समय पछि सार्वजनिक गरिने राष्ट्रिय जेन्जी नागरिक अभियानको केन्द्रीय समितिले जनाएको छ ।