कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना हुँदै


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्ने तयारी गरिएकाे छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आइतबार सूचना जारी गर्दै सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना बिहान ११ बजेदेखि सुरु हुने जानकारी दिएका छन्।

त्यस्तै, सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना मध्यान्ह १२ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा सुरु गरिने सूचनामा उल्लेख छ।

यसअघि शनिबार राति ९ बजेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति निर्वाचनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भने जारी छ।

निर्वाचन समितिका अनुसार सहमहामन्त्री पदका उम्मेदवारले मतगणनाका लागि दुई जना प्रतिनिधि राख्न पाउनेछन्। तर, केन्द्रीय सदस्य पदका उम्मेदवारले भने आफूबाहेक अन्य प्रतिनिधि राख्न पाउने छैनन्।