मनास्लुमा हिमपहिरो गएपछि गोरखामा ठूलो बाढी आएको आशंका


काठमाडौं । गोरखामा आएको ठूलो बाढी मनास्लु हिमाल क्षेत्रमा हिमपहिरो खसेका कारण उत्पन्न भएको हुन सक्ने आशंका गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयबाट हिमपहिरो खसेको सूचना पाए पनि यसको पुष्टि भइनसकेको जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ को उत्तरी क्षेत्रबाट आएको बाढीले सिर्दिबास, जगत, यारु, तातोपानी, सोती हुँदै आरुघाटसम्म क्षति पुर्‍याएको छ। बाढीले आरुघाटको पुल र जलविद्युत् आयोजनाका संरचनासमेत बगाएको उनले बताए।

आइतबार बिहान करिब ४ बजेदेखि उङगिलुङ खोलाबाट बूढीगण्डकीमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीको प्रभाव गोरखासहित धादिङ, तनहुँ र चितवनसम्म पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

हिमपहिरोका कारण बाढी आएको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्राधिकरणले जनाएकाे छ ।