गोरखा । गोरखाको चुमनुब्री क्षेत्र हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो तथा गेग्रानसहितको आकस्मिक बाढी आएपछि तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न जेन्जी अभियन्ता अजय सोडारीले सरकारसँग माग गरेका छन्।
सोडारीले बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप क्षति न्यूनीकरण गर्न तथा जोखिममा रहेका नागरिकको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। प्रारम्भिक जानकारीअनुसार बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको तथा कम्तीमा १० जना सम्पर्कविहीन भएको जनाइएको छ।
सोडारीले गत भदौ १० गते भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीका बेला उद्धार तथा राहत कार्यमा भएको ढिलाइ र प्रभावकारी व्यवस्थापनको अभावबाट पाठ सिक्न सरकारलाई आग्रह गरेका छन्। विगतमा समयमै उद्धार हुन नसक्दा बचाउन सकिने नागरिकको ज्यानसमेत जोगाउन नसकिएको उल्लेख गर्दै उनले बूढीगण्डकीमा त्यस्तो अवस्था दोहोरिन नहुने बताएका छन्।
उनले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य सञ्चालन गर्न आवश्यकताअनुसार सरकारी तथा गैरसरकारी हेलिकप्टर परिचालन गर्न माग गरेका छन्। साथै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन तथा उद्धारमा दक्ष टोली परिचालन गरी सम्पर्कविहीन नागरिकको खोजी तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रभावित क्षेत्रको अवस्था, सम्पर्कविहीन नागरिकको विवरण र उद्धारको प्रगतिबारे नियमित तथा विश्वसनीय सूचना सार्वजनिक गर्नुपर्ने उनको माग छ। सञ्चार सम्पर्क विच्छेद भएका क्षेत्रमा वैकल्पिक सञ्चारको व्यवस्था गर्न पनि उनले सरकारलाई आग्रह गरेका छन्।
त्यसैगरी, प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, चिकित्सक, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीसहितको टोली परिचालन गर्नुपर्ने र घाइते तथा बिरामीको उपचारका लागि पर्याप्त स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनले बताएका छन्।
उद्धार, राहत तथा मानवीय सहायताका लागि नागरिक, युवा, स्वयंसेवक र सामाजिक संघसंस्थालाई समन्वयात्मक रूपमा परिचालन गर्न सरकारले तत्काल आह्वान गर्नुपर्ने सोडारीको भनाइ छ। स्थानीय समुदायको अनुभव र क्षमतालाई पनि सुरक्षित तथा प्रभावकारी रूपमा उपयोग गर्न उनले सुझाव दिएका छन्।
‘अहिलेको पहिलो आवश्यकता आरोप–प्रत्यारोप होइन, नागरिकको जीवन रक्षा हो,’ सोडारीले आफ्नो अपिलमा भनेका छन्।




प्रतिक्रिया