बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न रवि लामिछानेको निर्देशन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सरकारसँग समन्वय गर्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत गोरखाको चुमनुब्री क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको खबरले आफू दुःखी भएको बताएका हुन्।

उनले बिहान बूढीगण्डकी नदीमा आएको बाढीले न्याक्चेत–फिलिम तथा धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्। साथै, बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै विपद्को यस घडीमा उनीहरूको उद्धार र सहयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न लामिछानेले आग्रह गरेका छन्।

उनले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर सहयोगमा जुट्न रास्वपाका सदस्यहरूलाई निर्देशनसमेत दिएका छन्।