सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट ल्याएकाे छ । नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री मल्लले यसअघि तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेटकै आकारलाई निरन्तरता दिएका छन्।

सरकारले बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ जुटाउने अनुमान गरेको छ। त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने अनुदान तथा रकमबाट १० अर्ब २४ करोड, संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड र वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यसैगरी, अघिल्लो आर्थिक वर्षबाट बचत हुने रकम ९ अर्ब ३५ करोड रुपैयाँ र संघीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। संघीय समपूरक अनुदानबाट ३८ करोड र विशेष अनुदानबाट ५२ करोड रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन। त्यसपछि एमाले र नेकपाको गठबन्धन सरकार गठन भएको थियो।