काठमाडौं । नेपालमा सुन तस्करीलगायतका आपराधिक गतिविधिमा केही चिनियाँ नागरिकको संलग्नता देखिएको भन्दै अनुसन्धान भइरहेकाे छ । यसैबीच काठमाडौंको बुढानीलकण्ठबाट २१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेपछि फेरि सबैकाे ध्यान तानेकाे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एक अधिकारीका अनुसार चिनियाँ नागरिकहरूले एक नेपाली नागरिकको सहयोगमा तस्करीको सुन लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार सुन भण्डारण गरिएको आशंकामा सम्बन्धित स्थानमा एक साताभन्दा बढी समयदेखि निगरानी भइरहेको थियो ।
बरामद सुनमध्ये ११ किलो प्रशोधित अवस्थामा र बाँकी १० किलो प्रशोधनका लागि राखिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीले सुन चीनबाट आएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
सुन लुकाएर राख्न सहयोग गरेको आरोप लागेका नेपाली नागरिकको बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सुन तस्करीमा चिनियाँ सञ्जालको आशंका
नेपालमा यसअघि पनि ठूला परिमाणमा सुन तस्करीका घटनाहरु बाहिरिएकाे थियाे । ती घटनामध्ये केहीमा अन्तरदेशीय सञ्जाल र संगठित समूहको संलग्नता देखिएको थियो । पछिल्लो बुढानीलकण्ठ प्रकरणमा पनि चिनियाँ नागरिकको संलग्नता रहेको प्रारम्भिक आशंकाले तस्करीको सञ्जालबारे थप अनुसन्धान आवश्यक देखाएको छ ।
सन् २०२३ को जुलाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरिसकेको अवस्थामा ब्रेक सुमा लुकाइएको ६० किलो सुन प्रहरीले बरामद गरेको थियो । उक्त घटनाको अनुसन्धानले चीनसँग सम्बन्ध जोडिएको संगठित तस्करी सञ्जालबारे तथ्य नै सनर्वजनिक भएकाे थियो ।
सन् २०१७ मा सुन तस्करीमा संलग्न समूहका लागि भरियाको काम गर्ने सनम शाक्यको हत्यापछि नेपालमा संगठित सुन तस्करीको ठूलो सञ्जालबारे खुलासा भएको थियो। उक्त प्रकरणको अनुसन्धानका क्रममा चार वर्षको अवधिमा ३.८ टन सुन तस्करी गरिएको आरोप सार्वजनिक भएको थियो।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याइएको उक्त सुन भारत पुर्याउने उद्देश्यले तस्करी गरिएको अनुसन्धानबाट खुलेको थियो।
तस्करीको क्रममा हराएको ३३ किलोग्राम सुन फिर्ता ल्याउने प्रयास भइरहेका बेला सनम शाक्यको हत्या भयाे । घटनापछि गृह मन्त्रालयले तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको थियो।
समितिको अनुसन्धानपछि प्रहरी अधिकारीहरूसहित ६३ जनाविरुद्ध मुद्दा चलाइएको थियो।
नेपाल हुँदै तस्करी गरिने अधिकांश सुन भारततर्फ लैजाने गरिएको विश्वास गरिन्छ। यस्ता संगठित सञ्जालले सुन ओसारपसार गर्न तथा तस्करीका विभिन्न चरणमा सहयोग पुर्याउन नेपाली नागरिकलाई भरिया र सहयोगीका रूपमा प्रयोग गर्ने गरेको बताइन्छ।




प्रतिक्रिया