सरकारले एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलायो


काठमाडौं । नेकपा एमालेको ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका  सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिर्ता भएका छन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सोमबारदेखि कार्यालयमा सुरक्षाका लागि खटिँदै आएको सशस्त्र प्रहरीको टोली फिर्ता भएको हो ।

यसअघि एमालेको केन्द्रीय कार्यालयमा पाँच जना सशस्त्र प्रहरी २४ सै घण्टा सुरक्षाका लागि तैनाथ रहने गरेका थिए । २०७८ सालदेखि च्यासलमा सञ्चालन हुँदै आएको पार्टी कार्यालयमा उनीहरू नियमित रूपमा खटिँदै आएका थिए ।

आइतबारसम्म कार्यालयको सुरक्षामा रहेका सशस्त्र प्रहरी सोमबारदेखि फिर्ता भएका हुन् ।

यसअघि गृह मन्त्रालयले विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरूको सुरक्षामा निर्धारित मापदण्डभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको भए उनीहरूलाई आफ्नै दरबन्दीमा फिर्ता पठाउन निर्देशन दिएको थियो ।

मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्ने क्रममा एमाले केन्द्रीय कार्यालयमा खटिएका सशस्त्र प्रहरी पनि फिर्ता भएका हुन् ।