बूढीगण्डकीको बाढीले पुल भत्काएपछि आरुघाटमा  बेलिब्रिज निर्माण हुँदै


आरुघाट । गोरखा र धादिङलाई जोड्ने आरुघाटस्थित मोटरेबल पुल बूढीगण्डकी नदीमा आएको बाढीले भत्काएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्न नेपाली सेनाले बेलिब्रिज निर्माणको तयारी थालेको छ।

आइतबार बिहान आएको बाढीले पुलका तीन स्पानमध्ये एउटा भाग भत्काएर बगाएको हो। पुल क्षतिग्रस्त भएपछि गोरखा र धादिङबीचको उक्त सडकखण्डमा यातायात सम्पर्क विच्छेद भएको छ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन सेनाले डोजरको सहायताले पुल आसपासको लेदो तथा अवरोध हटाउँदै बेलिब्रिज निर्माणको तयारी गरिरहेको छ। आवश्यक निर्माण सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने प्रक्रिया अघि बढाइएको छ।

नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आइपुगेपछि काम सुरु गरिनेछ।

उनले आइतबार नै सेनाको टोलीले पुल रहेको स्थानको निरीक्षण गरेको जानकारी दिए।