काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन्। उनले ठूला र शक्तिशाली पक्षबाट बलजफ्ती गरिए त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले आगामी चुनौतीहरूको सामना गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।
उनले लोकतन्त्र र राष्ट्रिय स्वाधीनता कमजोर बनाइएको दाबी गर्दै ती उपलब्धिको पुनःस्थापना आवश्यक रहेको बताए। बल प्रयोग गरेर दमन गरिए त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रनुपर्ने उनको भनाइ थियो।
‘लोकतन्त्र मासिएको छ । स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ । यी चिजको पुनःप्राप्ति गर्नु अनिवार्य सर्त हो,’ ओलीले भने, ‘बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौँ।’
निहत्था नागरिकलाई हतियार र संगठित शक्तिको प्रयोग गरेर दबाउन खोजिए जनताले त्यसको प्रतिवाद गर्नुपर्ने पनि उनले बताए। उनका अनुसार आन्दोलनको अर्थ हिंसा, आगजनी र लुटपाट नभई अन्याय तथा बलजफ्तीविरुद्ध आवाज उठाउनु हो।
‘आगो लगाउनु, लुटपाट गर्नु आन्दोलन होइन,’ ओलीले भने, ‘ठूलो र बलियोले कमजोरलाई बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नु नै आन्दोलन हो।’
आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुन सक्ने ओलीले बताएका छन्। विगतका निर्वाचन र राजनीतिक घटनाक्रमको प्रसङ्ग उल्लेख गर्दै उनले आफ्नो पार्टीविरुद्ध यसअघि पनि घेराबन्दी भएको दाबी गरे।
‘यस निर्वाचनमा हामीविरुद्धको घेराबन्दी सकिएको छैन, घेराबन्दी चालु छ,’ उनले भने।




प्रतिक्रिया