देश विकासका लागि दूरदर्शी नेतृत्व र मास्टर प्लान आवश्यक : ऋषि धमला

File Photo

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले देशको विकासका लागि दूरदर्शी, इमानदार र असल नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले विकास निर्माणलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने र राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै धमलाले नेपालको सडक संरचनाको विद्यमान मोडल परिवर्तन गर्नुपर्ने धारणा राखे ।

 उनले विकास निर्माणका काम अघि बढाउन स्पष्ट `मास्टर प्लान´ बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

धमलाले नेपाली समाजको हरेक तहमा राजनीतिक चेतना रहेको उल्लेख गर्दै राजनीतिक बहस गाउँदेखि सहरसम्म हुने गरेको बताए । “देशमा राजनीतिक चेतना नभएको मान्छे नै छैन । समाजको हरेक तहमा राजनीतिक बहस हुन्छ, घरघरमा र पसलपसलमा हुन्छ,” उनले भने ।

आफू पछिल्लो समय ७७ जिल्लाका विभिन्न स्थानमा पुगेको उल्लेख गर्दै धमलाले काठमाडौंको तुलनामा गाउँगाउँ र बस्तीमा राजनीतिक विषयवस्तुमाथि बढी बहस हुने गरेको सुनाए ।

उनले राजनीतिक चेतनाकै आधारमा नेपालका विभिन्न राजनीतिक आन्दोलन सफल भएको बताए । “देशमा २००७ सालदेखि अहिलेसम्म तीनवटा क्रान्ति भए । मधेस आन्दोलन, जनविद्रोह र जेनजी विद्रोह भए,” धमलाले भने ।