खगेन्द्र सुनारमाथि रास्वपाको एक्सन, छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा रोक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवादास्पद अडियो सार्वजनिक भएपछि पार्टीले घटनाबारे आन्तरिक छानबिन अघि बढाउने भएको छ। सार्वजनिक अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको दाबी गरिएको छ।

सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारकै भएको दाबी गर्दै सार्वजनिक गरेको थियो। अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा उनको अभिव्यक्तिलाई लिएर आलोचना हुनुका साथै सांसद पदबाट राजीनामा दिनुपर्ने र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने मागसमेत उठेको छ ।

विवाद चर्किएपछि सुनारको प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल फोन बन्द रहेको र उनी सम्पर्कमा आएका छैनन् ।

यसैबीच, रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद सुनारसँग सम्बन्धित सार्वजनिक समाचार, श्रव्य सामग्री तथा त्यसमा उठाइएका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आचार्यद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जनाएकाे छ ।

विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक कारोबारजस्ता विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको जनाइएको छ। यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै पार्टीले कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिलाई विशेष संरक्षण नदिने स्पष्ट पारेको छ।

रास्वपाले छानबिन प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआएसम्म सम्बन्धित सांसदलाई सार्वजनिक पदको हैसियतमा हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

त्यसैगरी, सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै पार्टीले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै विज्ञप्तिमा आन्तरिक छानबिन र राज्यको अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने जनाइएको छ।

सांसद सुनार यसअघि पनि प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षकसँगको विवाद, प्रस्तावित राजदूत नियुक्तिसम्बन्धी प्रकरणमा नाम जोडिएको विषय तथा गाईसम्बन्धी अभिव्यक्तिलगायतका कारण चर्चामा आएका थिए।